सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउन सरकार अग्रसर

२०८३ असोज २८, ११:५२ रासस

काठमाडौँ : विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ सरकारले सामुदायिक विद्यालयको पूर्वाधार विकासको योजना अघि बढाएको छ ।

उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।
शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आवमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल रु छ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाए । 

मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो । निकासा भएको रकममार्फत अहिले विद्यालयमा अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ ।

प्रतिविद्यालय करिब छ करोड रुपैयाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था हुनेछ । 
उक्त लगानीबाट विद्यार्थीको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताए ।

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ । 
“विद्यालयबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ”, उनले भने, “आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।”
साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद दिदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गर्नुभएको छ । 
 

कमेन्ट लोड गर्नुस