सन्नीले गरिन् सहयोगको आग्रह

बलिउड अभिनेत्री सन्नी लियोनी अहिले आफूमाथि बनेको बायोपिक ‘करनजित कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’लाई लिएर चर्चामा छिन् ।
आफ्नो जिन्दगीमाथि बनेको फिल्ममा सन्नी आफैँले अभिनय गरेकी छिन् । यस फिल्म हेरेपछि दर्शकले सन्नी लियोनीबारे अझै नयाँ कुरा थाहा पाउने बताइएको छ ।
यसका साथै सन्नीले सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर आफ्ना फ्यानसँग पैसा मागेकी छिन् । तर, सन्नीले उक्त पैसा आफ्ना लागि नभएर आफ्ना तीन बच्चाका मामाका लागि मागेकी हुन् ।
उनले स्टाटसमा लेखेकी छिन्, ‘मेरो नाम सन्नी लियोनी हो र म मेरो साथी प्रभाकरका लागि पैसा मागिरहेको छु । प्रभाकर हाम्रो टिमको एक हिस्सा हुन् र मेरा बच्चाहरूका मामा पनि । अचानक उनको स्वास्थ्य बिग्रियो र उनी अस्पतालमा भर्ना भएका छन् । गलत तरिकाबाट उपचार भएका कारण उनको अवस्था खराब छ । यसबारे थाहा भएपछि म र मेरा पति डेनियलले उनलाई अलि राम्रो अस्पतालमा भर्ना गरेका छौँ ।’
उनले स्टाटसमा थपेकी छिन्, ‘उनको २० प्रतिशत मिर्गौलाले काम गरिरहेको छ । यस्तोमा मिर्गौला ट्रान्सप्लान्टको आवश्यकता छ ।’ उनको यस स्टाटसमा विभिन्न कोणबाट प्रतिक्रिया आइरहेको छ ।

