बाजुराको स्याउ दशैंसम्म धनगढीमा,पेटि तथा खुद्रामा समेत बिक्री हुने
बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादित स्याउ धनगढीमा बिक्री हुन थालेको छ। स्थानीय उत्पादनलाई बजार दिने उद्देश्यले तीन जना किसानले करिब ५ सय ५० पेटी स्याउ धनगढी ल्याएका हुन्। तर, धनगढी आइपुगेपछि माग गरेका व्यापारी सम्पर्कमा नआएपछि किसानलाई स्याउ बिक्री गर्न समस्या भएको थियो।
बाजुराबाट धनगढीसम्मको कठिन यात्रा पार गरेर स्याउ ल्याए पनि लगातारको वर्षाका कारण बजारीकरणमा थप समस्या देखिएको किसानको भनाइ छ।स्याउको माग गरि धनगढी पठाइएपछी व्यापारी सम्पर्क न आएपछि किसानहरुले आफै धनगढीमा बिक्रीवितरण गरेका छ्न् । समाचार माध्यममा व्यापारीले ठगेको भन्ने गुनासो बढेपछि उक्त सम्बन्धित व्यापारीले पछि १ सय ३० पेटी स्याउ खरिद गरेको बताइएको छ । अहिले बाँकी रहेको स्याउ भने धनगढीका विभिन्न स्थानबाट बिक्री भइरहेको छ।
हाल धनगढीको सकम्बरीमा रहेको बिक्री केन्द्र तथा उपमहानगरपालिका कार्यालय अगाडि बन्देवी मन्दिरनजिकै सञ्चालन भइरहेको हाटबजारबाट बाजुराको स्याउ थोक तथा खुद्रा मूल्यमा बिक्री भइरहेको छ।
रुपाली कृषि फर्म प्रा.लि.का सञ्चालक दानबहादुर रावलले किसानले कठिन यात्रा गरेर धनगढी ल्याएको स्याउ खरिद गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न उपभोक्तालाई आग्रह गरेका छन् । उनका अनुसार बाजुरामा उत्पादन भएको स्याउले उचित बजार नपाउँदा कतिपय अवस्थामा बारीमै कुहिने अवस्था छ।
स्थानीय उत्पादनको बजारीकरणका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग आवश्यक रहेको रावलको भनाइ छ। किसानको उत्पादन खेर जान नदिन सरकारले चिस्यान केन्द्र, स्याउ ग्रेडिङ मेसिन तथा कृषि एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने उनले माग गरे ।
प्रदेशका कृषि मन्त्री दामोदरबहादुर भण्डारी र सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले किसानका समस्या समाधानका लागि आश्वासन दिएको उल्लेख गर्दै रावलले सरकारले किसानका समस्या सम्बोधन गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
धनगढीको हाटबजारबाट बाजुराको स्याउ खरिद गरेका तारानाथ पनेरुले बाजुरामा उत्पादित स्याउ स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि समेत राम्रो रहेको बताए । स्थानीय उत्पादनको प्रवर्द्धनमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको भनाइ छ।
कृषि उत्पादनमार्फत आयआर्जनका अवसर सिर्जना गरी युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकिने भन्दै पनेरुले स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनमा उपभोक्ता तथा सम्बन्धित निकायको भूमिका महत्वपूर्ण हुने बताए ।
बाजुराको स्याउ धनगढीसम्म आइपुगे पनि उचित बजार र भण्डारणको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। किसानले उत्पादन गरेको स्याउ खेर जान नदिन बजार व्यवस्थापनसँगै चिस्यान केन्द्र, ग्रेडिङ तथा ढुवानीको व्यवस्था गर्न सके स्थानीय कृषि उत्पादनलाई थप प्रवर्द्धन गर्न सकिने देखिन्छ।