कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान तीव्र
धनगढी: देशभर जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि कैलालीमा जेईविरुद्धको खोप अभियानलाई तीव्र पारिएको छ।
अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप लगाउन थालिएको हो।
जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्र आसपास यसको जोखिम बढी हुने सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अनिरुद्र थपलियाले बताए।
उनका अनुसार जेई संक्रमण भएपछि टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा कमजोर हुने तथा बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमण गम्भीर भएमा मस्तिष्कमा असर पु¥याउनुका साथै मृत्यु र दीर्घकालीन स्नायुसम्बन्धी समस्या निम्तिन सक्ने उनले बताए ।
डा. थपलियाका अनुसार कैलालीमा हालसम्म जापानिज इन्सेफलाइटिसका नयाँ बिरामी फेला परेका छैनन्। यद्यपि अन्य क्षेत्रमा संक्रमण देखिनुका साथै मौसमी अवस्थाका कारण जोखिम कायम रहेकाले खोप अभियानलाई तीव्रता दिइएको उनले बताए ।
सेती प्रादेशिक अस्पतालमा मात्रै आइतबार बिहानसम्म ३० वर्षभन्दा माथिका ९ सयभन्दा बढी व्यक्तिले जेईविरुद्धको खोप लगाइसकेको उनले जानकारी दिए ।
जेईबाट बच्न खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय भएको डा. थपलियाले बताए । उनले लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्न नदिने तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् भने उमेर पुगेका सबै नागरिकले खोप लगाउन हुन उनले अनुरोध गरेका छन् ।