सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ बर्षसँगै टीकापुर पार्कमा पर्यटकको संख्या वृद्धि

२०७५ वैशाख १, ०७:०३

कैलालीको कर्णाली नदी किनारमा अवस्थित टीकापुर पार्कमा नयाँ बर्ष सुरु भएसंगै पर्यटक वढेका छन् । पार्कको मर्मत सम्भारपछि पार्क पनि सुन्दर देखिएको छ ।

टीकापुर पार्कमा नयाँ बर्षको पहिलो दिन १४ हजार आन्तरिक तथा वाह्य पर्यटकले पार्क अवलोकन गरेका छन् । आज पहिलो दिन पार्कमा पर्यटकवाट २ लाख ८० हजार रुपैया राजश्व संकलन भएको छ । 

टीकापुर पार्कमा गुलाव फूलेर सौन्दर्यता वढाएको छ । पार्कमा झण्डै ४० प्रकारका गुलाव छन् । पार्कमा धेरै कम स्थानमा देख्न मिल्ने कालो रंगको गुलाब सहित राता, पहेला, सेतो, हरियो, बैजनी रंगका थुप्रै गुलाव देख्न सकिन्छ । टीकापुर पार्क ८४ विगाह क्षेत्रफलमा फैलिएको छ ।

पार्कलाई मुख्य गरी तीन भाग महेन्द्र आरोग्य गृह, विरेन्द्र विश्राम बाटिका र फलफूल बगैचामा विभाजन गरिएको छ । पार्कलाई व्यवस्थित गर्न गुरुयोजना वनाएर अघि बढिरहेको टीकापुर नगरपालिकाकी उपप्रमुख केशरी विष्टले बताईन ।

तत्कालीन राजा महेन्द्रले स्वास्थ्य लाभ गरेपछि यसलाई पार्कका रुपमा निर्माण गरिएको हो । पार्क निर्माणमा तत्कालीन मन्त्री खड्गवहादुर सिंह लगायतको मुख्य भूमिका रहेको छ । यो पार्क लामो समय तत्कालीन टीकापुर विकास समितिको मातहतमा थियो ।

टीकापुर विकास समिति विघटन भएपछि पार्कको सवै जिम्मेवारी टीकापुर नगरपालिकामा सारिएको छ । २०६४ सालदेखि नगरपालिकाले पार्कको संरक्षण गर्दै आएको छ । 
नयाँ वर्ष, दशै तिहार जस्ता चाडपर्वको समयमा बढी पर्यटक आउने गरेका छन् । नयाँ बर्ष सुरु भएपछि आज पहिलो दिन पार्कमा पर्यटक वढेका छन् ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यले पार्कमा आउने पर्यटकको सहजताका लागि ठाउँ ठाउँमा टिकट पाईने व्यवस्था सहित नगरपालिकाका सबै कर्मचारी खटाएको जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस