सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँमै सरकार पुग्यो, लालवहादुरको भारतमा चौकीदारी छुटेन (भिडियो पनि)

२०७५ असोज २७, ०९:३१ नवराज पनेरु

अछामको कमल बजार नगरपालिका वडा नम्वर २ का लालवहादुर नेपालीलाई भारतमा चौकीदारी गर्न थालेको ४० बर्ष भयो। भारतको महाराष्ट्र स्थीत नांदेड जिल्लाको एउटा बजारमा अहिले उनी चौकीदारी गर्दै आएका छन्। उनका बुवाले पनि भारतमै चौकीदारी गरेर जिविका चलाए, अहिले उनी पनि त्यहि भारतमा चौकीदारी गरेर दिनचर्या विताईरहेका छन्।

२ छोरा पनि भारतमै अहिले पढिरहेका छन् र उनीहरुले पनि भारतकै विभिन्न क्षेत्रमा मजदुरी गर्नुपर्ने हो भन्नेमा लालवहादुर विश्वस्त छन्। आफ्ना पुस्ताहरुको सिको गर्दै चौकीदारी गर्न भारत पसेका लालवहादुरका छोरा पनि उतै जन्मिए र  भारतीय संस्कारमा हुर्किरहेका छन्। उनीहरुले नेपालमा आएर कुनै जागिर गर्लान वा व्यवसाय गर्लान भन्नेमा स्वयम लालवहादुरलाई पनि विश्वास छैन्। 
दशैँ मनाउन जन्मथलो फर्किदै गर्दा दंग देखिएका लालवहादुरलाई ४० बर्ष अगाडी भारत छिर्दा भारतमै मजदुरी गरेर जिन्दगी विताउन पर्ला भन्ने सोच पनि आएको थिएन्। तर उनी समय, परिस्थिती र बाध्यताको दास भए। जस्ले गर्दा जिवनको उत्तरार्धमा पनि लालवहादुर महाराष्ट्र स्थीत नांदेड जिल्लाको एउटा बजारमा लठ्ठि समातेर डिउटी गरिरहेका छन्।
दिनेश खवर संग कुराकानी गर्दै लालवहादुरले प्रश्न गरे, घर आगनमै रोजागरी पाए भारतका बजारमा लठ्ठि समातेर डिउटी गर्ने रहर कस्को होला ? रोजागरीका लागि भारत लगायतका विभिन्न तेश्रो मुलुक छिरेका धेरै सुदूरपश्चिमेलीहरुको प्रश्न लालवहादुरले उठाएका थिए। तर त्यस्को जवाफ न दिनेश खवरका संवावददातासंग थियो न त यहाँको प्रदेश र स्थानीय सरकारसंग नै छ। 
दशैँको मुखमा आवागमनको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट त्रिनगर नाका पुगे। नाका पुग्दा कुनै बेला भारतमा चौकीदारी गर्दै दिनचर्या चलाएको सम्झना मुख्यमन्त्री भट्टलाई पनि आयो होला। तर आफुले विगतमा चौकीदारी गर्दा भोगेको समस्या अन्य कुनै सुदूरपश्चिमेलीहरुले भोग्न नपरोस भनेर मुख्यमन्त्री भट्टले कुनै योजना बनाएका होलान त ? धेरैले जान्न खोजेको विषय हो। 
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएर पद तथा गोपनीयताको सपथ ग्रहणपछि भट्टले भनेका थिए, ‘अव कुनै पनि सुदूरपश्चिमेलीहरुले भारतमा चौकीदारी गर्नुपर्दैन’ तर कार्यकालका ८ महिना वित्नै लाग्दा सुदूरपश्चिमेलीहरले भारतमा चौकीदारी गर्नुपर्ने बाध्यता हटाउने प्रयास के भयो त ? साहेद मुख्यमन्त्रीसंग पनि जवाफ छैन् होला। 
दशैँ मान्नका लागि जन्मथलो फर्किरहेका लालवहादुरलाई दशैँ मानेर दोश्रो दिन नै भारतमा पुग्नु छ। किनभने चौकीदारी नै नगरे न उनको चुलोमा आगो बल्छ न त छोराहरुलाई पढाउन सकिन्छ। दुई छोरा, श्रीमति सहित ४ जनाको परिवार पाल्ने एउटै आधार त्यहि चौकीदारी हो।

बजार क्षेत्रको चौकीदारी गरे वापत लालवहादुरले महिनामा १५ हजार सम्म कमाउँछन् र घरपरिवारको जिविका चलेको छ। चौकीदारी गरेर जीवनको उत्तरार्धमा पुगिसकेका लाल वहादुरको सपना आफ्ना छोरालाई भारतमा वस्न नपरोस् भन्ने छ, तर त्यस्का लागि गाउँ घरमै पुगेका प्रदेश र स्थानीय सरकारले रोजागरीको वातावरण मिलाओस भन्ने चाहना उनको छ। तर उनलाई यहाँको सरकारले स्वदेशमै रोजागरीको बातावरण बनाउँला र छोराहरुले मातृभुमीमा पर्किनुपर्ला भन्नेमा विश्वास भने छैन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस