सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि

२०८१ वैशाख २३, १२:३३ खबर संवाददाता

काठमाडौँः नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन्। शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताएका हुन्। 

नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो? भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने, मैले पनि त्यो रिपोर्ट देखेँ। मैले विस्तृतमा भने हेरेको छैन। तर यसमा हाम्रो धारणा प्रस्ट छ। नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ। त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे। एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन।

अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो। हाल चलनचल्तीमा रहेको १ सय दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। अहिले प्रचलनमा रहेको सय रुपैयाँको नोटमा पुरानै नक्सा रहेको छ। नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो।

नेपाल सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको थियो। नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ।

कमेन्ट लोड गर्नुस