सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ प्रदेश (१) मा मतदान हुँदै, १२ सय सुरक्षाकर्मी परिचालन

२०८१ वैशाख १५, १०:०४ खबर संवाददाता

धनगढीः बझाङ प्रदेश (१) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा एकसाथ मतदान सुरू भएको छ।

बझाङ प्रदेश (१) मा उपनिर्वाचनको लागि मतदान सुरू भएको हो। आज (शनिबार) बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ। ६१ हजार सात सय ४८ मतदाता रहेको बझाङ प्रदेश (१) मा दलबाट १२ जनाको उम्मेदवारी परेको छ।

७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न मतदातालाई अपिल गरेको छ। चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालनामा विशेष सजगता अपनाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको छ। आयोगले मतदानको दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका  पृथ्वीबहादुर सिंहको गत असारमा सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा आज उपचुनाव हुन लागेको हो। बझाङमा ६१ हजार सात सय ४८ मतदाता छन्। मतदान शान्तिपूर्ण रुपमा भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस