सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पोल्ट्री व्यवसायीको ५ अर्व लगानी डुब्ने खतरा

२०७६ वैशाख ३, ०३:४७ नवराज पनेरु

झण्डै २ सातादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सुदूरपश्चिममा पोल्ट्री व्यवसाय नै संकटमा परेको छ। सुदूरपश्चिमका सबै नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात ठप्प गरिएपछि पोल्ट्री व्यवसाय नै संकटमा परेको हो। पशु क्वारेन्टाइन चेकपोस्टले आयातमा कडाइ गरेपछि कच्चा पदार्थ बोकेका डेढ दर्जन ट्रक भन्सारमा रोकिएका छन्। पोल्ट्री व्यवसायी विवेक भट्टले चैत २० गतेदेखि क्वारेन्टाइनले पशुपन्छीजन्य वस्तुको आयातमा रोक लगाएको बताए। उनले कच्चा पदार्थको आयातमा पनि भारतीय स्वस्थताको प्रमाणपत्र अनिवार्य गर्दै आयात ठप्प पारिएको बताए। 

सुदूरपश्चिम भन्दा बाहिरका सबै नाकामा निर्वाध रुपमा पशुपन्छीजन्य वस्तुको आयात भईरहेपनि सुदूरपश्चिममा भने अनावश्यक कागज मागेर कच्चा पदार्थ अयातमा रोक लगाईएको उनले बताए। बैशाख २ गते रुपहडीया नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात भएको कागज देखाउदै भट्टले सुदूरपश्चिममा मात्रै नयाँ नियम लगाएर पोल्ट्री व्यवसायमा गरिएको ५ अर्व बढिको लगानी संकटमा पार्न खोजिएको बताए। उनले मुख्यमन्त्री सहित प्रदेशका सबै मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई समेत समस्या समाधानका लागि आग्रह गर्दा पनि वेवास्ता गरिएको बताए। आर्थिक समृद्धिको कुरा गर्ने मन्त्रीहरुले पोल्ट्री व्यवसाय नै संकटमा पर्ने खतरा बढ्दा पनि वेवास्ता गरेको आरोप लगाए।

अर्का पोल्ट्री व्यवसायी दिनेश लम्सालले पशुपन्छीको दाना उत्पादनका लागि आयात गरिएका भटमास, पिना, मकै लगायतका कच्चा पदार्थको आयात रोकिएपछि व्यवसाय नै धरापमा परेको बताए। उनले अन्य नाकामा निर्वाध रुपमा कच्चा पदार्थको आयात भईरहेपनि सुदूरपश्चिमका नाकाबाट मात्रै कच्चा पदार्थ आयातमा रोक लगाउँदा व्यवसाय नै धरापमा पर्ने खतरा बढेको बताए। त्रिनगर भन्सार नाकामा मात्रै १६ वटा कच्चा पदार्थ बोकेका गाडीहरु रोकिएको उनले जानकारी दिए। 

पशु क्वारेन्टाइन महाशाखाको निर्देशनका आधारमा पशुपन्छीजन्य वस्तुको आयात गर्दा भारतको क्वारेन्टाइनले जारी गरेको स्वस्थताको प्रमाणपत्र अनिवार्य गरिएको पशु क्वारेन्टाइन गड्डाचौकीका प्रमुख विनय कुमार कर्णले बताए। उनका अनुसार पशु स्वास्थ्य तथा पशु ऐन २०५५ मा पशुपन्छीजन्य वस्तुको आयातमा आयातकर्ता देशबाट स्वस्थताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने प्रावधान छ। तर उक्त नियम २० बर्ष सम्म लागु नभएको अहिले सुदूरपश्चिमका नाकाहरुमा मात्रै लागु गरिएपछि पोल्ट्री व्यवसायीहरु संकटमा परेका हुन्। 

यता दाना उद्योगी संघले भने भारतबाट कच्चा पदार्थ ल्याउदा भारतको स्वस्थताको प्रमाणपत्र ल्याउन परे निकै समस्या हुने बताए। त्यस्का लागि दिल्ली जानुपर्ने हुन्छ भने एउटा गाडीको स्वस्थताको प्रमाणपत्र बनाउन मात्रै कम्तिमा १५ दिन लाग्ने गरेको छ। व्यवसायीहरुले उक्त प्रमाणपत्र ५० औँ गाडी एकै पटक ल्याउने व्यपारीहरुका लागि मात्रै ठिक भएको प्रतिक्रीया दिएका छन्। उनीहरुले अहिले लागु गरिएको नयाँ नियम पनि केहि सिमित ठुला व्यवसायीहरुलाई पक्षपोषण गर्न ल्याईएको आरोप लगाएका छन्। पोल्ट्री व्यवसायीले भारतबाट कच्चा पदार्थ ल्याउन पर्ने बाध्यता रहेको बताएका छन्। उनीहरुले स्वदेशमै कच्चा पदार्थको उपलव्धता भए भारतबाट नल्याउने पनि बताउका छन्। सुदूरपश्चिमका दाना उद्योगहरुले त सरकारले जग्गाको व्यवस्थापन गरे आफैँ मकै लगायतका आवश्यक कच्चा पदार्थ उत्पादन गर्न पनि तयार रहेको बताएका छन्। 

सुदूरपश्चिममा मात्रै साप्ताहिक रुपमा झण्डै २ लाख कुखुरा खरिद हुन्छ भने दैनिक डेढ लाख अण्डा खरिद हुँदै आएको छ। सुदूरपश्चिम पोल्ट्री व्यवसायमा मात्रै झण्डै ५ अर्व लगानी छ भने कुखुरामा लगभग प्रदेश आत्मनिर्भर छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस