सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीले काठ खरिद गर्न छाडे, सुदूरपश्चिममा अर्बौको काठ सड्दै

२०८० जेठ २९, १०:५६ कमल सावद

धनगढीः नेपालमा काठको परिमाणका लागि लम्बाई, गोलाई र गोलाई गुणन गर्दै दुई हजार तीन सय सातले भाग गर्ने चलन थियो। काठको परिमाणका लागि प्राविधिकहरुले यो सुत्र प्रयोग गर्दै आएका थिए। नेपालका राष्ट्रिय वन तथा सामुदायिक वनहरुले यो सुत्रको प्रयोगबाट आउने परिमाणको काठ बिक्री गर्दै आएका थिए। तर, संघीय वन मन्त्रालयका कर्मचारीको मिलेमतोमा काठको लम्बाई, गोलाई र गोलाईको गुणन गर्दै एक हजार आठ सय आठले भाग गर्ने नयाँ सुत्र लागु गरियो। 

नयाँ सुत्रले काठको परिमाण वृद्धि गरेको छ भने मूल्यसमेत बढाएको छ। काठ व्यवसायी गौरीलाल ओझाले नेपाली काठको मूल्य धेरै भएको बताए। उनले विदेशको काठको मूल्य कम र नेपाली काठको मूल्य बढी हुँदा समस्या भएको बताएका छन्। नेपाल सरकारले लागु गरेको नयाँ सुत्रमा काठको मूल्य झन बढाएको उनको गुनासो छ। उनले भने, ‘काठमा नयाँ सुत्र लागु गरिएको छ। नयाँ सुत्रले मूल्य बढाएको छ। उपभोक्ताले नेपाली काठ खरिद गर्न सक्ने अवस्था रहेन।’ 

नेपाल सरकारले काठको परिमाण वृद्धि हुने गरि नयाँ सुत्र लागु गरेपछि काठको मूल्यसमेत बढेको छ। सुदूरपश्चिममा मात्र अर्बौको काठ खेर जाने अवस्थामा छ। यो वर्ष प्रदेशका कुनै पनि  व्यवसायीहरुले काठ खरिद गरेका छैनन्। उनीहरुले विदेशी काठसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै काठ खरिद नगरेका हुन्। काठ व्यवसायी संघका अध्यक्ष जोनकुमार शाहले २२ प्रतिशत परिमाण वृद्धि भएको बताए। उनले भने, ‘संघले गरेको निर्णय अनुसार काठको २२ प्रतिशत परिमाण बढेको छ। नयाँ एक क्यूफिटको अब एक दशमलव २२ पर्छ। हामीलाई रोयल्टी पनि बढी पर्ने भयो। उपभोक्ताले पनि काठको मूल्य बढी तिर्नुपर्ने भयो।’

अन्तराष्ट्रिय मापदण्डमा नभएको सुत्र संघीय वन मन्त्रालयका कर्मचारीले पास गरेका हुन्। उनीहरुले नेपाली काठलाई बजारमा आउन नदिन र काठको मूल्य वृद्धिका लागि नयाँ सुत्र लागु गरेको आरोप लागेको छ। संघीय वन मन्त्रालयका कर्मचारीको सिफारिसमा नयाँ सुत्र लागु भएको हो। प्रदेश सरकार मातहतमा रहेका वनका कर्मचरीले संघीय वन मन्त्रालयको निर्देशनको पालना गर्दै आएका छन्। सुदूरपश्चिम वन निर्देशनालयका निर्देशक कृष्ण भट्टले संघीय सरकारले नयाँ सुत्र लागु गरेको बताए। उनले भने, ‘नयाँ सुत्र अनुसार काठको मात्रा बढ्ने भएको छ। कञ्चनपुरमा काठ व्यवसायीले टेन्डर हालेनन भन्ने जानकारी पाएको थिए। विदेशी काठहरु पनि सस्तो छ। नेपाली काठ महंगो भयो। परिमाणसँगै रोयल्टी बढेको छ। रोयल्टी बढेपछि काठको मूल्य पनि बढेको छ।’

नेपाल वन तथा वन पैदावारले धनी छ। तर नेपालमा उत्पादन भएको काठ तथा वन पैदवार बिक्रीका लागि झन्झट नियम रहेको छ। सुदूरपश्चिम प्रदेशमा अरबौको काठ सड्दै गएको छ। प्रदेशका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनहरुबाट संकलन भएको काठ सड्दै गएको हो। झण्डै एक वर्षदेखि काठ व्यवसायीले काठ खरिद गरेका छैनन्। जंगलमा रहेको काठ बिक्रीको प्रक्रिया पूरा भए पनि सरकारले काठको परिमाण वृद्धि गरेपछि व्यसायी हैरान भएका हुन्। 

उनीहरुले वनका कर्मचारीहरुले विदेशबाट आयात हुने काठलाई बढवा दिन नेपाली काठको परिमाण र मूल्य वृद्धि गरेको आरोप लगाएका छन्। विदेशबाट आयात हुने काठमा वनका कर्मचारीहरुले कमिसन पाउदै आएको आरोप उनीहरुको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस