कैलालीमा एक सहकारीको १० लाख हिनामिना, कोको छन् संलग्न?
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरका शंकर आर्चायको समूह मिलेर २०७२ सालमा नमुना ज्योती कृषि सहकारी स्थापना गरे। शंकर आचार्य अध्यक्ष रहेको सहकारीमा ३६ जनाले १० हजारका दरले तीन लाख ६० हजार लगानी गरे। उनीहरुले मासिक पाँच सयका दरले रकम संकलन गर्न थाले।
१२ महिनासम्म उनीहरुले मासिक पाँच सयका दरले दुई लाख १६ हजार रकम सहकारीमा जम्म गरे। तर अहिले सहकारीको रकम हिनामिना भएको छ। शेयर सदस्य देवीप्रसाद गौतमले तीन वर्षदेखि सहकारीले मासिक रकमसमेत उठाउन छाडेको बताए। उनलका अनुसार सहकारीको झण्डै १० लाख रकम हिनामिना भएको हो। उनले भने, ‘वार्षिक साधारण सभा एक पटक पनि भएको छैन। त्यो रकमको हिसाब किताब छैन। तीन वर्षदेखि लेबि पनि उठाएका छैनन्।’
सहकारी स्थापना गर्न १०÷१० हजार लगानी गरेका शेयर सदस्यहरुले पाँच÷पाँच हजार फिर्ता लिएका थिए। उनीहरुले मासिक रुपमा उठाउदै आएको पाँच सयबाट दुई सयमा झारे। झण्डै पाँच वर्ष सहकारीको अध्यक्ष भएर आचार्यले चलाए। अहिले अर्जुन सापकोटा सहकारीको अध्यक्ष छन्। उनले झण्डै तीन वर्षदेखि सहकारीको मासिक रकमसमेत उठाउन सकेका छैनन्।
सहकारीले गरेको ऋण लगानी उठ्न नसकेपछि सहरकारीले मासिक रकम उठाउन समेत बन्द गरेको हो। गौतमले भने, ‘राजनीतिक दलहरु मिलेर सहकारी खोलेका हुन्। उनीहरुलाई पटक–पटक हामीले सहकारी चलाउन सक्ने–नसक्ने विषयमा सोधेका छौ। सकिदैन भने, अर्काे सहकारीमा मर्ज गर्न सकिन्छ। अफिस पनि छैन। पैसा अर्काे व्यक्तिले चलाएको छ।’
सहकारी सञ्चालन भएको आठ वर्ष भएको छ। कार्यालयसमेत स्थापना भएन्। झोलाबाट सञ्चालन हुँदै आएको सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। शेयर सदस्यहरुले नै मासिक रकम उठाउदै आएकोमा सहकारीमा झण्डै १० लाख संकलन भएको दाबी छ। तर संकलन भएको पुरै रकम शेयर सदस्यबाटै हिनामिना भएको आरोप लागेको हो। केही सदस्यहरुले भने आफ्नो लगानीसमेत नपाएको गुनासो गरेका छन्।
सहकारीका अध्यक्ष सापकोटाले ऋण लगानी भएको रकम नउठेकाले समस्या भएको बताए। उनले भने, ‘शेयर सदस्यहरुले ऋण लिएका छन्। उनीहरुले फिर्ता गरेका छैनन्। एक भेला राख्ने योजनामा छु। भेलाबाट यो टुंगो लगाउछु। ८÷१० जनाले ऋण लिएका छन्।’ उनले सहकारीमा जम्मा रहेको रकमको बारेमा जानकारी नभएको बताए।
सहकारीबाट ऋण लिएकाहरु फरार भएका छन्। उनीहरुले रकम फिर्ता नदिएकाले समस्या भएको सहकारीको दाबी छ। कार्यालय स्थापना नगरेरै लामो समयदेखि सञ्चालित सो सहकारीलाई कहिँकतैबाट नियमन गरिएको छैन्। तर सहकारीका अध्यक्ष अर्जुन सापकोटाले निकास निकाल्ने बताएका छन्। ऋण लिएका मान्छे बाहिर भएकाले समस्या भएको सापकोटाले बताए। उनले २ देखि ३० हजारसम्म एक जनाले ऋण लिएर फिर्ता नदिएको बताए।