बेहडाबाबा मेलामा रक्सी पाइदैन, जँड्याहा भेटिन्छन
धनगढीः कैलालीको बेहडाबाबास्थित महादेव तालमा मंगलवार बिहानै एक युवकको डुबेर मृत्यु भयो। महादेव तालको बिचमा रहेको मन्दिरको दर्शन गरेर पौडी खेल्दै फर्किएका डडेल्धुराको जोगबुडाका लोकेश भाटको डुबेर मृत्यु भएको हो। उनीसँग स्नान र मन्दिरमा पूजा गर्न गएका तीन जना पौडिखेल्दै तालको छेउमा आए। मदिरा सेवन गरेर उनीहरु तालमा गएको बुझिएको छ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले उनीहरु बिहानै मदिरा सेवन गरेर तालमा छिरेका बताए। जोशीले भने, 'बिहान ४ बजे रक्सी खाएका चार जना युवकहरु गएका रहेछन। हामी त यता तिर थियौ। स्टापहरु कोही पनि बस्दैनन्। प्रहरी चौकी यता तिर छ। केटाहरु रक्सी खाएको झोकमा मन्दिरमा पनि पुगे। मन्दिरमा होहल्ला पनि गरे। पानी धेरै छैन। तर दल दलमा एक जनाको मृत्यु भएको छ।'
बेहडाबाबा मन्दिर तथा मेला क्षेत्रमा मदिरा बिक्री, वितरण तथा सेवनमा रोक लगाइएको छ। तर शिवगंगाको किनार र गाउँबाट मदिरा सेवन गरेर युवाहरु मेला क्षेत्रमा प्रवेश गर्ने गरेका छन्। उनीहरुलाई निगरानी गर्न मेला व्यवस्थापन समिति तथा प्रहरी प्रशासनले कुनै वास्ता गरेको छैन्। मन्दिर क्षेत्रमा अमर्यादित घटना हुन नदिन ८० जनाको हाराहारीमा प्रहरी परिचाल गरिएको छ। सर्वसाधारणले यो पटक बेहडाबाबा मेला व्यवस्थित र सुरक्षित नभएको गुनासो गरेका छन् । तर, समितिले मेला शान्तिपूर्ण वातावरणमा सञ्चालनको प्रयास थालिएको दाबी गरेको छ। जोशीले मन्दिर क्षेत्रमा मदिरा बिक्रीमा रोक लगाएको बताए। उनले भने, 'पहिलाको भन्दा कम भएको छ। तर कताबाट खाएर आउछन्।' मन्दिर क्षेत्रमा समिति र वडा कार्यालयले मदिरा बिक्रीमा रोक लगाएको भएपनि जँड्याहा भेटिने गरेका छन्।
बेहडाबाबादेखि शिवगङ्गासम्म झण्डै तीन किलोमिटरको दुरी रहेको छ। शिवगंगा किनारमा मदिरा, माछा, मासु तथा नृत्यसमेत हुने गरेको छ। मन्दिर क्षेत्रमा निषेध गरिएको सबै कुरा शिवगंगाको किनारमा हुने गरेका छन्। शिवगंगाको किनाराको मेलामा मदिरा सेवन गरेकाहरु बेहडाबाबा मेलामाजाने गरेका जोशीले बताए। उनले मन्दिर क्षेत्रमा सुरक्षाका लागि तयार रहेको बताए।
बेहडाबाबामा प्रत्येक वर्ष गंगादशहरा मेला लाग्दै आएको छ। मेलाको सुरक्षा गर्न मन्दिर व्यवस्थापन समिति, स्थानीय तह तथा प्रहरी प्रशासनले नसकेको आरोप लागेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबामा गंगा दशहरादेखि लागेको मेलामा मदिरा सेवन गरेकाहरु भेटिने गरेका हुन्। मन्दिर व्यवस्थापन समितिले वडाअध्यक्षहरु र प्रहरीको रोहवरमा मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ। तर, मदिरा सेवन गरेकाहरू निस्फिक्री मेलामा घुमेका हुन्छन्।
मन्दिरको मेलाका स्टलहरुमा मदिरा बिक्री नभए पनि शिवगंगाको किनारको बजारमा मदिरा बिक्री हुने गरेको हो। मन्दिर क्षेत्र बाहिरबाट मदिरा सेवन गर्ने र मेलामा आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।