सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेपुवामा परेको भन्दै कैलाली बहुमुखीका प्राध्यापकहरूको सामूहिक राजीनामा

२०८० जेठ १३, ०६:३५ नारायण अवस्थी

धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापक आन्दोलित भएका छन्। कैलाली बहुमुखी क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा नै दिएर आन्दोलित भएका हुन्। शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी गरेका छन्।

सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समजदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ। प्राध्यापकहरूको आन्दोलनसँगै केन्द्रीय क्याम्पस महेन्द्रनगरको चेपुवाका कैलाली बहुमुखी क्याम्पस परेको रहस्य खुलेको छ। सुदूरपश्चिमको अग्रणी शैक्षिक धरोहरका रुपमा ख्याती कमाएको कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको हो।

लामो समयको रस्साकस्सीपछि प्रदेशमै सबैभन्दा बढी विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चलको आङ्गिक बनेको थियो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको देशभरमै उत्कृष्ट नतिजा ल्याउन सफल र स्रोत साधन सम्पन्न कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल क्याम्पसमा गाभिएपछि अहिले प्राध्यापकहरूले नै आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको छ।

विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनु परेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए। ‘विश्वविद्यालयले क्याम्पस समायोजन हुँदा गरेका वाचा पूरा गरेन। अहिलेका उपकुलपतिको समय अब ५/६ महिना मात्रै बाँकी छ। तर, समायोजनसम्म टुङ्गिएको छैन,’ उनले भने, ‘अहिलेका उपकुलपतिले प्रगति हुन नसक्ने कारण पनि भन्नु पर्यो र पछि आउने उपकुलपतिले पूरा गर्ने सुनिश्चित गर्नुपर्यो।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो।

यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्कटेक्चरल इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएको थियो। तर, अहिले आएर समायोजनकै काम पनि पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको प्रध्यापक संघका सभापति सापकोटाले बताए।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको गुनासो छ। केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण विश्विद्यालयले समायोजन गर्न नसकेको आरोप छ। यस्तै, कैलाली बहुमुखी क्याम्पस समायोजनामा जाँदा विश्वविद्यालयले गरेका प्रतिवद्धता पूरा नगरेको प्राध्यापकहरूको तर्क छ।

तर, कैलाली बहुमुखी क्याम्पसमा क्रमशः सबै विषयको अध्यापन हुने निश्चित रहेको विश्वविद्यलयले जनाएको छ। सबै कुरा एकै पटक गर्न नसकिए पनि क्रमशः नयाँ विषयको अध्यापन हुने सुदूरपश्चिम विश्वविद्यलयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए। ‘शैक्षिक कार्यक्रम अहिले भन्यो अहिले नै हुँदैनन्। वन विज्ञान र इन्जिनियरिङको तयारी गरिएको छ,’ उनले भने, ‘व्यक्ति महत्वपूर्ण होइन। संस्था महत्वपूर्ण हो।

संस्थागत विकासमा लागिरहेका छौँ। आत्तिनु पर्दैन।’ सरकारी क्याम्पस भएपछि प्राध्यापक समायोजनको काम हुने र कैलाली बहुमुखी क्याम्पसमा प्राविधिक संकायको पठनपाठन सुरू हुने विश्वास गरिएको थियो। तर, महेन्द्रनगरको केन्द्रीय क्याम्पसका केही प्राध्यापकहरूको निहित स्वार्थका कारण विश्वविद्यालयको काम भद्रगोल भएको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस