कैलालीको गोदावरीमा वनको जग्गा दर्ता गर्न वडा अध्यक्षकै स्वीकृति
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा साना किसान कृषि सहकारी संस्थाले वन क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरेको छ। पूर्व–पश्चिम राजमार्गको उत्तरतिरको वन क्षेत्रमा दुई तलाको आलिसान भवन सहकारीले निर्माण गरेको छ।
६ कट्टा १२ धुर जमिन सहकरीले अतिक्रमण गरेको क्षेत्रलाई वडा कार्यालयले नै प्रमाणित गरेको छ। वनको जग्गा सहकारीले दर्ताका लागि प्रमाणिकरण गरेको खुलेको हो। सो क्षेत्र वडाअध्यक्ष गोविन्द चौधरीले प्रमाणिकरण गरेका हुन्। सूर्योदय सामुदायिक वनकी अध्यक्ष जगत्रा सिँहले सामुदायिक वन क्षेत्रमा निर्माण भएका संरचनाहरु दर्ताको प्रक्रियामा गएको बताइन्। उनले साना किसान कृषि सहकारी र कन्टेम्पोरोरी इमिसिएटभ्सले जग्गा दर्ताका लागि वडा कार्यालयमार्फत प्रक्रिया सुरु गरेको बताइन्।
सामुदायिक वनकी अध्यक्ष सिँहले भनिन्, ‘आपाङ्गको घर छ। वृद्ध आश्रमका लागि पनि घर बनेको छ। हामीलाई पत्र पठाएको थियो। तर हामीले पास गरेनौ। वनको जग्गा दिन सकिदैन। हामीलाइ सालको बोट रोप्न भनेको थियो। त्यही ठाउँमा घर बनेका छन। हामीले संस्थाहरु हटाउन सकेनौ। संस्थाहरुले दर्ता गरिपाँउ भनेर वडा र नगरमा दिएका छन्।’
साना किसान सहकारीले २०५६ सालदेखि वन क्षेत्रमा भवन निर्माण गरेको भन्दै वडाध्यक्ष चौधरीले प्रमाणिकरण गरेका छन्। उनले सहकारीले वन क्षेत्रमा अतिक्रमण गरेको प्रमाणित गरेका हुन्। तर सहकारीले जग्गा आफ्नो नाममा दर्ता गर्नका लागि प्रक्रिया थालेको स्थानीय युवाहरुको आरोप छ। सूर्यदय सामुदायिक वनको जग्गा अतिक्रमण गरेको सहकारीले दर्ताको प्रक्रिया थालेको हो। स्थानीय सुरज ओझाले सहकारीले ६ कट्ठा १२ धुर जंगलको जग्गा कब्जा गरिएको बताए।
उनले सहकारीले चार किल्ला प्रमाणित गरेको बताए। वनमा सामुदायिक वन निर्माण गरिएको ठाउँमा साना किसानले कार्यालय स्थापना गरेको तर्क ओझाको छ। उनले भने, ‘सहकारीको नियत खराब छ। यो भत्काउनु पर्छ। पटक पटक वन अतिक्रमण गरेको छ। हामी माथिल्लो निकायमा जान्छौ। वनमा कुरा पुर्याएका छौ। यो भत्किन्छ।’ गोदावरी नगरपालिकाको स्याउले क्षेत्रको सूर्यदय सामुदायिक वनको जग्गा विभिन्न संस्थाले पनि दर्ताको प्रक्रिया थालेका हुन्।
वृद्धा आश्रमका लागि भनेर कन्टेम्पोरोरी इमिसिएटभ्सले समेत वनमा भवन निर्माण गरेको छ। तीन हजार चार सय वर्गमिटर जमिन दश वर्षदेखि भोगचलन गर्दै आएको भन्दै गलत सिफारीस गरिएको छ। वडाको उक्त सिफारीसका अधारमा उक्त संस्थाले पनि दर्ताको प्रक्रिया थालेको आरोप स्थानीय युवाहरुको छ। सूर्योदय सामुदायिक वनमा वनको स्वीकृत बिना भवनहरु निर्माण हुँदै आएका हुन्। जनप्रतिनिधिहरुले वन क्षेत्रको जग्गा अतिक्रमण गर्दै आएका छन्।
उनीहरुले विभिन्न संस्थाको नाममा वन अतिक्रमण गर्ने र भूमि आयोज मार्फत तीनै संस्थाको नाममा जग्गा दर्ताको प्रक्रिया थालेका हुन्। वडाअध्यक्षले विभिन्न संस्थाको वन अतिक्रमणलाई वैधानीक्ता दिने काम गर्दै आएको खुलेको हो। तर वडाध्यक्ष गोविन्द चौधरीले भने वन क्षेत्र भोगचलन गर्दै आएका संस्थाका सिफारीस र प्रमाणित खारेज गर्ने बताउछन्। उनले विभिन्न पक्षको दबाबका कारण प्रमाणित गरेको बताए।
उनले भने, ‘वडा सदस्यहरुलाई सोधेको थिए। सहकारीका अध्यक्षले पनि सामुदायिक वनको निर्णय छ भन्नु भयो। सोही आधारमा प्रमाणित गरेको थिए। तपाईहरु पनि आउनु भयो। गैरकानूनी रहेछ। यो सिफारीस र प्रमाणित खारेज गर्छु।’ कैलालीको वन संस्थागत अतिक्रमणको चपेटामा छ। जिल्लामा भूमि आयोगले जग्गा दर्ताको प्रक्रिया थालेका बेला अतिक्रमण गरेर संरचना निर्माण गरिएका वनहरु पनि संस्थाका नाममा दर्ता हुने क्रम बढ्दो छ।