पूर्वाधार विकासमा धनगढीको फड्को, यी हुन् कार्यकालको पहिलो वर्षका उपलब्धि
धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहितको जनप्रतिनिधिले कार्यकाल सम्हालेको एक वर्ष पूरा भएको छ। पहिलो वर्षको बजेट तथा कार्यक्रममा पुराना योजनालाई प्राथमिकता दिएको उपमहानगरले भौतिक पूर्वाधार विकासमा पनि उत्तिकै जोड दिएको छ।
उपमहानगरपालिकाका अनुसार चारवटा पुराना सडक कालोपत्रको काम पूरा भएको छ। साढे तीन किलोमिटर सडक कालोपत्रका लागि एक वर्षमा चार करोड खर्च भएको छ। ३५ वटा सडक नालीसहित निर्माणको चरणमा छन्। दुईवटा पक्की पुल निर्माण हुँदैछन्। उपमहानगरले १० वटा कालोपत्र सडक मर्मत गरेको छ भने १० वटा मर्मत गर्न ठेक्का सम्झौता गरेर काम सुरु भएको छ।
नगरप्रमुख हमाल नेतृत्वको टिमले पहिलो वर्ष बेहडाबाबा, जाखोर ताल र तौलहवा तालको बाँकी रहेको कामसमेत पूरा गरेको छ। ताल संरक्षणका लागि यो वर्ष ६ करोड खर्च भएको डिभिजनल इन्जिनियर दीजराज भट्टले बताए। उनले भने, ‘केही योजनाहरु पुराना सरेर आएका थिए। केही योजना नयाँ थिए। चालु वर्षमा ६४ करोड खर्च गरेका छौँ। पुँजीगत अन्तर्गत ३६ करोड खर्च भएको छ।
पुराना चार सडकको काम पूरा भएको छ। ताल तलैया संरक्षण र पर्यटन विकासका कामहरु भएका छन्।’ इन्जिनियर भट्टका अनुसार विद्यालयका चारवटा भवनको काम पूरा भएको छ। उनले धनगढी नमुना माध्यामिक विद्यालयको भवन निर्माणको काम पूरा गरेर उद्घाटनसमेत भइसकेको बताए। तीनवटा विद्यालयका भवनको निर्माण पूरा भएर चार करोड भुक्तानी गरिसकिएको छ। थप ८ वटा नयाँ भवन निर्माणको चरणमा छन्।
मुख्य सडकका ४२८ संरचना खाली
लथालिङ्ग अवस्थाका योजनाहरुलाई पूरा गर्न पहिलो प्राथामिकता राखेको धनगढीले मुख्य सडकका संरचना खाली गरेको छ। धनगढी उपमहानगरपालिकाको आग्रहमा मुख्य सडक क्षेत्रका घर तथा जग्गा धनीहरुले भौतिक संरचना खाली गरेका छन्। धनगढीमा मुख्य सडकको दुई दशमलव तीन किलोमिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली गर्नु नगरप्रमुख हमालको मुख्य उपलब्धि हो।
सुदूरपश्चिम सरकारले धनगढीको मुख्य सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा ठेक्का सम्झौता गरेको छ। २४ महिनाभित्र मुख्य सडक निर्माणको काम पूरा हुनेछ। मुख्य सडकको १५ मिटर दायाँ र १५ मिटर बायाँका निजी संरचना खाली गरिएको थियो। सरकारी कार्यालयहरुलाई सडकको सेटब्याकसमेत छोड्न भनिएको छ।
सडकको सेटब्याक रहेको क्षेत्रमा वृक्षारोपण गर्ने उपमहानगरको योजना छ। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडक क्षेत्रीय सहरी विकास मार्फत कालोपत्र हुने र कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक प्रदेश सरकारले कालोपत्र गर्ने भएपछि धनगढीको मुख्य सडक स्तरीय हुने नगरवासीको अपेक्षा छ।
उज्यालो धनगढीको सुरुवात
भौतिक पूर्वाधार निर्माणमा सबैले देख्ने गरी भएको काम सडक बत्ती जडान हो। मोहनापुल–अत्तरिया ६ लेन सडकमा नेपाल विद्युत प्राधिकरणको ४० तथा उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा स्मार्ट सडक बत्ती जडान गरिएको छ। स्मार्ट सडक बत्ती जडानमा २ करोड ७० लाख खर्च भएको छ। उज्यालो धनगढी अभियान अन्तर्गत थप १५ वटा हाइमास्ट लाइट जडान गरिएको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडकमा १०, फूलबारी क्षेत्रमा तीन तथा बेहडाबाबा र शिवपुरी धाममा एक/एक वटा हाइमास्ट लाइट जडान गरिएको छ। उपमहानगरले हाइमास्ट लाइट जडानमा एक करोड खर्च गरेको छ। ६ लेन सडकको बाँकी रहेको क्षेत्रमा स्मार्ट लाइट जडानका लागि ठेक्का भएको छ।
९४ लाखका नयाँ लाइट खरिद कार्य अघि बढेको छ। नगरप्रमुख हमालले असारसम्म चौराहदेखि भन्सारसम्मको बत्ती जडानको काम पूरा हुने बताए। उनले भने, ‘सुरुवात ६ लेन सडकबाट गरेका हौँ। १९ वटै वडामा बनाउने हो। क्रमिक रुपमा गर्दै जाने हो।’ नगरप्रमुख हमालले उज्यालो धनगढीको सुरुवात भएको बताए।
एक वर्षमा ६ गाडी खरिद
उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा अहिलेसम्म ३६ करोड खर्च गरिसकेको छ। उपमहानगरले एक वर्षमा ६ वटा सवारी खरिद गरेको छ। पहिलो वर्ष नगर प्रहरीका लागि ४४ लाख ९५ हजारको जिप, ८० लाखका दुई डोजर, फोहोर बोक्नकालागि २१ लाखको ट्याक्टर र ५७ लाखको फोहोर संकलन गर्ने कम्प्रेसर खरिद गरिएको छ। साथै एक थान ट्रिपर खरिदको प्रक्रियामा छ। नगरप्रमुख हमालले आफूले भने व्यक्तिगत गाडी प्रयोग गर्दै आएका छन्। हमलले सरकारी सेवा सुविधा उपभोग नगर्ने घोषणा गरेका थिए। पूर्व नगरप्रमुखको गाडी विशेषज्ञ वडा क्लिनिकमा प्रयोग हुँदै आएको छ।
सबै वडाका सडकमा ग्राभेल
धनगढी उपमहानगरपालिकाका ट्रिपरहरुले १९ वटै वडाका सडकहरुमा ग्राभेल गर्ने काम जारी छ। नगरवासीको मागअनुसार सबै वडाका सडकमा ग्राभेल गर्ने काम भइरहेको छ। नगरप्रमुख हमालले भने, ‘प्रत्येक दिनको ग्राभेलको हिसाब दिएका छौँ। एक वडामा एक दिनमा ग्राभेल हुँदैछ। दिनमा ग्राभेल गरिन्छ, साँझ जेसिबीले मिलाउँछ। धनगढीका सबै वडाका बाँकी सडकमा १८ करोडको ग्राभेल लाग्ने भएको छ। १९ वटै वडा सबै सडकमा ग्राभेल नभएर हुने समस्या नआओस् भनेर काम भइरहेको छ। बिजुली, कल्भर्ड, ह्यूमपाइपलगायतको काम पनि क्रमिक रुपमा गर्दै जाने छौँ।’
अतिक्रमण खाली
धनगढीको मुख्य समस्या डुबान हो। डुबान समस्या समाधानका लागि लागि नगरप्रमुख हमालको टिमले खोला, नाला तथा सार्वजनिक सम्पतीमाथिको अतिक्रमण खाली गर्ने काम जारी छ। गत वर्षको असार १ गतेबाट खोलाको अतिक्रमण हटाउन सुरु गरिएको थियो। खोलानालामाथि भएको अतिक्रमण नहटाउँदासम्म डुबानको समस्या समाधान नहुने भन्दै असार १ गतेदेखि अतिक्रमित क्षेत्र खाली गर्न थालिएको नगरप्रमुख हमालले बताए।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गर्दै नगरप्रमुख हमालले सम्पूर्ण धनगढीवासीमा खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन अपिल गरेका थिए। अतिक्रमण हटाउने अभियान जारी नै छ। धनगढीको वडा नम्बर २, ३, ४ र १ का विभिन्न खोला तथा सार्वजनिक जमिनहरु खाली गराइएको छ।
हरित धनगढी अभियान
हरित धनगढी अभियानअन्तर्गत मोहनापुल–अत्तरिया ६ लेन सडकमा वृक्षारोपण गरिसकिएको छ। ६ लेन सडकको मिडियनमा मात्रै तीन हजार एक सय २५ बिरुवा उपमहानगरपालिकाले रोपेको छ। धनगढीको ६ लेन सडककै फुटपाथमा छाँया दिने बिरुवा रोपणको कामसमेत सुरु भएको छ। कैलाली भन्सार क्षेत्रमा बिरुवा रोप्नका लागि खाल्डा खन्ने काम समेत सुरु भएको छ।