धनगढीको मुख्य सडक निर्माण गर्न सम्झौता, २४ महिनामा स्तरीय सडक बन्ने
धनगढीः धनगढीको मुख्य सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन बिच सडक निर्माणका लागि सम्झौता भएको हो।
धनगढीको कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म कालोपत्र सडक निर्माणको ठेक्का सम्झौता गरिएको छ। २०८० वैशाख २७ गते २४ महिना भित्र सडक निर्माणको काम पूरा गर्ने सम्झौता भएको हो। निर्माण कम्पनिले २०८२ वैशाख २६ गते भित्र धनगढीको मुख्य सडक स्तरीय निर्माण गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने छ।
पूर्वाधार कार्यालय कैलालीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले साढे ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनसँग सडक निर्माणको ठेक्का सम्झौता भएको बताए। केएस कन्स्ट्रक्सनले सडक निर्माणको काम भने सुरु गरेको छैन्। केएसले स्तरीय सडकसँगै विद्युत र खानेपानीका पाइपहरु समेत स्तान्तरण गर्ने छ।
धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि १५ मिटर दाँया र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो। उपमहानगरपालिकाको आग्रहमा दुई दशमलव तीन सय मिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली भएका छन्। धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले जनस्तरबाट सहयोग भएकाले ठुलो काम सकिएको बताए। उनले सडकको क्षेत्राधिकार खाली गर्न ठुलो चुनौती रहेको बताए। उनले भने, धनगढीको मुख्य सडको अधिकार क्षेत्र खाली भएको छ।
धनगढीको ट्राफिक जामको समस्या समाधानका लागि उपमहानगरले फराकिलो र स्तरीय सडक निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो। धनगढी चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र हुँदैछ।
कैलाली पुल देखि हुलाकी राजमागर्ग सम्म प्रदेश सरकारले स्तरीय सडक निर्माण गर्नेछ। हुलाकी राजमार्ग आयोजनाले पनि धनगढीमा तीन किलोमिटर सडक चार लेनमा विस्तार गर्दैछ। क्षेत्रीय सहरी विकास, हुलाकी राजमार्ग र प्रदेश सरकारले सडक निर्माणको काम पूरा गरे धनगढीको मुख्य सडक स्तरीय देखिने छ। धनगढी मुख्य सडकको ट्राफिस जाम समेत कम हुने विश्वास गरिएको छ।