सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘शून्य औलो अबको थालनी’

२०८० वैशाख १२, ०७:०१ खबर संवाददाता

धनगढी: स्थानीय औलो शून्यमा झार्ने योजना सरकारको रहेको छ।  औलो शून्यमा झार्न सबैले लाग्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपालको सबैभन्दा पूरानो स्वास्थ्य  कार्यक्रम औलो निवारण सन्  १९५४ मा  नेपालमा लागु भएको थियो। सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य सरकारले लिएको छ।

आज अर्थात २५ अप्रिलका दिन हरेक वर्ष विश्व औलो दिवस मनाइने गरिन्छ। धनगढीमा पनि स्वास्थ्य कार्यालय कैलालीले विश्व औलो दिवसको अवसरमा धनगढीमा औलो परीक्षण शिविर सञ्चालन गरेको हो। स्वास्थ्य कार्यालय धनगढीमा औलो दिवसकै अवसरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ।

औलो निवारणका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच विस्तार, औलोको रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने मिसनका साथ सरकारले काम गरिरहेको बताइएको छ। नेपालमा सन् २०२५ सम्म औलो निवारण गर्ने परिकल्पना सरकारले गरेको छ।

संघीय संरचनाअनुसार सबै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँच तथा रोकथामका उपायहरू अवलम्बन औलो निवारण गर्ने योजना सरकारको छ।
जसका लागि औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रणाली सुदृढिकरण गर्ने, औलोको जोखिम रहेको स्थानहरूमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरि औलो सर्ने दरलाई घटाउन काम गरिने छ।

यस्तै, औलोको गुणस्तरीय निदान तथा उपचार सर्वसुलभ पहुँच सुनिश्चित गर्ने र औलो निवारणका लागि प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्नुपर्ने छ।सुदूरपश्चिम प्रदेश औलोका दृष्टिकोणले उच्च जोखिममा रहेको क्षेत्र भएको स्वास्थ्य अधिकारीले बताएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिममा १६५ औलोका बिरामी आयातित थिए भने १६ जनामा स्थानीय संक्रमण देखिएको थियो। सुदूरपश्चिमको कैलालीमा ८४, अछाममा २२, डोटीमा ५, बाजुरामा ११, कञ्चनपुरमा ३३, डडेल्धुरामा ३ र बैतडीमा ३ जनामा औलो देखा परेको थियो।

'शून्य औलो अबको थालनी। नविनतम कार्य, कार्यान्वयनमा लगानी' भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ। एनोफिलिज जातको लामखुट्टेले टोकेमा औलो हुने गर्छ। औलो भएमा टाउको बेस्सरी दुख्ने, दिन बिराएर ज्वरो आउँने, पेट दुख्ने, बान्ता आउने, फियो बढ्ने र रक्तअल्पता जस्ता लक्षण देखा पर्छन्।  रगतको नमुना परीक्षणबाट औलो पत्ता लगाउन सकिन्छ।यस्तै,मलेरिया केस आउने बित्तिकै ३६०४० मा एसएमएस गरे २४ घण्टाभित्र उपचार टोली पुग्ने व्यवस्था मिलाइएको स्वास्थ अधिकारीले बताएका छन्।

मलेरियाको किटाणु वातावरणमा भए पनि मान्छेमा सर्न नदिने प्रयास गर्नुपर्ने स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। उनले औलो  र डेङ्गु सर्न नदिन मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएकाले औलो र डेङ्गु हुन नदिन सचेतना बढाउन मिडिया क्षेत्रको सहयोग हुनुपर्ने धामीले बताए।

कमेन्ट लोड गर्नुस