सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा खानेपानीको समस्या 

२०८० वैशाख १२, ११:०९ खबर संवाददाता

बैतडीः बैतडीको दशरथचन्दमा खानेपानीको समस्या भएको छ। दशरथचन्द नगरपालिका–१ स्थित मुस्याचोरमा खानेपानीको चरम अभाव भएको हो। मुस्याचोरसंगै गुरुखोला बजारमा पनि खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन्। हरेक वर्ष सुख्खायाममा खानेपानीको अभाव हुँदै आएको स्थानीय व्यापारी मानबहादुर टेरले बताए।

मुस्याचोर र गुरुखोलामा श्रीखण्डको खोलामा रहेको मूहानबाट खानेपानी आउने गरेको छ। लामोदुरीमा रहेको र खानेपानी लाइन समेत जीर्ण भएकाले सुख्खायाममा खानेपानीको चरम समस्या हुने गरेको छ। मुस्याचोर बजारमा एकमात्रै पानीको धारा रहेको सोही धाराबाट बजार र गाउँका मानिसहरुले पानी भनुपर्ने भएकाले खानेपानीको व्यवस्थापनमा समस्या भएको छ।

पालो कुरेर मात्रै पानी भर्नुपर्ने अवस्था रहेको स्थानीय भीमराज भट्टले बताए। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी योजनाको काम भइरहेको भएपनि पूरा हुन अझै केही समय लाग्ने देखिएको छ। लिफ्टिङ खानेपानीको काम सम्पन्न भएपछि मुस्याचोर र गुरुखोलामा खानेपानीको समस्या समाधान हुने दशरथचन्द नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस