सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारू समुदायमा सिकलसेलको संक्रमण उच्च

२०८० वैशाख ११, ०३:५८ खबर संवाददाता

धनगढीः कैलालीमा थारु समुदायमा सिकलसेलको संक्रमण उच्च देखिएको छ। जिल्लाको कैलारी गाउँपालिमा भएको स्वास्थ्य शिविरमा जाँच गरिएकामध्ये १३ प्रतिशतमा सिकलसेल एनिमिया रोगको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य शिविरमा ९ सय ६ जनाको परीक्षण गरिएकामा एक सय २१ जनामा सिकलसेल पुष्टि भएको छ।

हालसम्मको तथ्यले वंशाणुगत यो रोग थारू समुदायमा मात्रै लागेको देखिएको छ। स्वास्थ्य शिविरको नतिजा हेर्दा गाउँपालिकाभरि धेरैजनामा सिकलसेल रोग रहेको हुन सक्ने देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताए। कैलारीले गाउँपालिकाभित्रका ६ वटा स्वास्थ्य संस्थामा दुई–दुई दिन सिकलसेल परीक्षण शिविर सञ्चालन गरेको थियो।

सिकलसेल देखिएकाहरू रोगी हुन् वा वाहक हुन भनेर छुट्याउन थप परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ। स्वास्थ्यकर्मीका अनुसार रगतमा सिकलसेलको मात्रा ४० प्रतिशतभन्दा बढी देखिए रोगी र त्योभन्दा कम देखिए सिकलसेल वाहक मानिन्छ। रोगीले अनिवार्य रूपमा नियमित औषधि सेवन गर्नुपर्ने चौधरीले बताए। 

सरकारी तथ्यांकअनुसार कैलाली र कञ्चनपुरमा करिब एक हजार दुई सयजना सिकलसेलका बिरामी उपचाररत छन्। सेती प्रादेशिक अस्पतालमा मात्रै साढे ८ सयभन्दा बढी सिकलसेलका बिरामीले नियमित स्वास्थ्य जाँच गराइरहेका छन्।

कमेन्ट लोड गर्नुस