बैतडीको मेलौलीमा तीनदिनसम्म स्वास्थ्य शिविर सञ्चालन हुने
धनगढीः बैतडीको मेलौली नगरपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ।
बैतडी समाज कैलालीको आयोजना र मेलौली नगरपालिकाको समन्वयमा शुक्रबारदेखि शिविर सञ्चालन भएको हो। स्वास्थ्य शिविरको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार उद्दघाटन गरेका छन्। बिहीबारमात्रै बैतडी पुगेका मुख्यमन्त्री शाहले शुक्रबार दिउँसो मेलौली पुगेर शिविरको उद्दघाटन गरेका हुन्।
स्वास्थ्य शिविर उद्दघाटन कार्यक्रममा बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट,दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो। बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको विशेष स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए।
शिविर तीनदिनसम्म सञ्चालन हुनेछ। शिविरमा विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। शिविरमा आँखा, नाक, कान, घाँटी सम्बन्धी सेवा दिइनुका साथै अन्य सेवाहरु समेत दिइएका छन्। शिविर सञ्चालनमा बैतडी समाज कैलाली,धनगढी नेत्रालय, च्यारेटी हेल्थ फाउण्डेसन लगायतका संस्थाहरुको सहयोग रहेको छ।
शिविरको उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन यस्ता शिविरहरुले सहयोग गर्ने बताए। गाउँघरमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी भएका छन्।