सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शंकरपुर पस्तीको झलक

२०८० वैशाख ४, ०१:३०

मानसिंह धामीः दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका अन्तर्गत वडा नम्बर ८ मा अवस्थित सुन्दर रमणीय स्थान गाउँपालिकाको सदरमुकाम शंकरपुर पस्ती हो। यो अति रमणीय शंकरको तपोभूमि मैले कक्षा १ देखि कक्षा १० सम्म बालापनको स्कुले जीवन विताएको जन्मभूमिको एक अंश पनि हो।

शंकरपुरको बारेमा चित्रणगर्दा पाठकहरूलाई आफू जन्मेको, हुर्केको र बालापनको स्कूले जीवन विताएको ठाउँलाई कसले पो नराम्रो भन्ला र रु भनेर भन्ने पक्कै पनि लाग्न सक्छ। तर यो लेखसंगै संलग्न जिउँदो तस्बिरले यो ठाउँसँग अपरिचित जो कोहिलाई पनि आकर्षक सुन्दर दृश्यले एकचोटी उक्त ठाउँको अवलोकनगर्ने मन पक्कै पनि लाग्छहोला भन्ने कुरामा विश्वस्त छु। शंकरपुरको परिदृश्य वर्णनगर्न तस्बिर उपलब्ध गराई सहयोग गर्नुभएकोमा मेरा अनन्य मित्र धिरज पन्त ज्यूलाई पनि साधुवाद छ। हुनत, आफू जन्मेको, हुर्केको, गाईवस्तु गोठालो गएको तथा पढेलेखेको ठाउँ मरुभूमि नै किन नहोस, नदीको तट जोखिमयुक्त ठाउँमा नै किन नहोस, कस्लाई पो नराम्रो लाग्छ होला र। तर शंकरको तपोभूमि शंकरपुर त्यस्ता जोखिमहरूबाट पनि पृथक रहेको कुरा अवगत गराउन चाहे।

योजनाबिनाको काम चाहे सानै किन नहोस, अर्थहिन हुन्छ। त्यस्तै मेरो यो लेख पनि योजनाबिनाको अर्थहिन त हुने होइन कि रु भन्ने कता कता मनमा शंका उपशंका नलागेको भने होइन । शंकरपुरको बारेमा चित्रण गर्दा कताबाट सरुगर्ने, के लेख्ने, कसरी लेख्ने आदि कुराहरू मनमा उब्जि रहेका छन् । कतै पाठकहरूले आफूलाई बढोत्तरीगर्न लेखकले यस्ता कुराहरू लेख्ने गर्दछ कि भन्ने पनि लाग्न सक्छ। तर, मलाई कुनै ठाउँको बारेमा लेखेर, उक्त ठाउँको प्रसंशा गरेर लेखक, साहित्यकार, राजनीतिज्ञ केही हुनु छैन, किनकि म हातमुख जोर्न सक्षम र दुईचार जनाको मिल्नेसाथी पक्कै पनि छु।

शंकरपुरमा विद्यालयतह देखि स्नातक तह सम्मको अध्ययन हुने गर्दछ। शंकरपुर माद्यामिक विद्यालयको सिरानमा करिब २०० मिटर माथि स्वास्थ्यचौकी रहेको छ । स्वास्थ्यचौकी भन्दा माथि डाँडामा शिवमन्दिर रहेको छ। जहाँबाट शैल्य शिखर धामको दर्शन गर्न सकिन्छ। डाँडामा अवस्थित शिवमन्दिरबाट उत्तरतिर मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ र २ भगवती अन्तर्गतका खुना, जगतबिसा, ठिङ, सिराड, गाडखोला, मौपानी, रेवली, सुत्तने, थापाला र माथि नागबेली आकारको बलशिखर, न्वालपानी धुरा सहजै अवलोकन गर्न सकिन्छ।

शिवमन्दिरको उत्तरतर्फ बलशिखरको पारीपट्टी भारतको उत्तराखण्डमा पर्ने केही गाउँहरू, नन्दादेवी र नन्दकोट हिमालको दृश्यावलोकन गरेर प्रकृतिको आनन्दानुभूति गर्न सकिने कुरामा  दुईमत नहोला। शंकरपुरको चारैतिर सल्लो, बाज, घङारु, किरमडा, ऐसेलु, काफल लालिगुराँश, उतिस, काफल, आदि वनस्पतिहरूले जो कोहीलाई पनि मोहनी नलगाउला भन्न सकिन्न। यो ठाउँमा सल्लाहरूको घना जंगलले थप आकर्षण बढाएको छ। शंकरपुरबाट उत्तरतिर करिब एक किलोमिटरको दूरीमा भोरकोट भन्ने ठाउँमा अस्पताल भवन निर्माण सम्पन्न हुने क्रममा रहेको छ। शंकरपुरको पश्चिमतिर लटिनाथ मन्दिर पौडीपाण्डौदेखि अझै पश्चिम गणेबाजको तल रगसखाली भन्ने ठाउँमा शंकरपुरबाट करिब २ किलोमिटरको दूरीमा मालिकार्जुन गाउँपालिकाको सदरमुकामको प्रस्ताव गरिएको छ। तथापि अहिले पौलबिसामा सरकारी र अर्धसरकारी भवनहरूबाट सरकारी कामकाज सञ्चालन भइरहेको छ।

शंकरपुर सेरोफेरोमा विभिन्न गाउँबस्तीहरू रहेका छन्। शंकरपुरको पूर्वमा मालिकार्जुन गाउँपालिकाको हुनैनाथ वडा नम्बर ४ अन्तर्गतको गोठ्युडी रहेको छ। गोठ्युडी गाउँमा अवस्थी ब्राह्मण र औल्लेकी हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूको बस्ती रहेको छ। शंकरपुरको दक्षिणमा सिराडी गाउँ पर्दछ। जहाँ जोशी, पन्त, खत्री, धामीहरूको बसोबास रहेको छ। शंकरपुरको दक्षिण पश्चिममा बोरेपानी, गोरेकाणा, सच्चोरी, चोल्थी, रतोडा, कोटिला, टाटिक, थालाबन्थाला आदि गाउँहरू रहेकाछन्। उक्त गाउँहरूमा पन्त, खत्री, बोहरा, ढोली, धामी, रावल, महरा, ओझा, जोशी, भाट, लेखक आदि जातिहरूको बसोबास रहेको छ।

पस्ती गाउँको समथर मैदानीभाग पहाडको अन्नको भण्डार भन्दा अतिशयोक्ति नहोला। यो गाउँमा पन्त, धामी, बोहरा, लुहार, पार्की, ढोली आदि जातिको बसोबस स्थल हो। पस्तीदेखि अगाडि पश्चिम जोगिलुटा, एकलेखाली, चस्कोट, गडानी, पन्तपाली, थलाबन्थाला, धमालेक, सानन्चोर, धरमपानी, चौकी, उकु, सलेती, श्रीपुर, पासादेउ, टाटिक, सिलाजो लगायतका गाउँहरू रहेकाछन्। उक्त गाउँहरूमा धामी, कुँवर, धानुक, भट्ट, ओझा, चन्द, महरा, जोशी, भाट, पन्त, मिश्र, पाल, आदि जातिका मानिसहरू बसोबास गर्दछन्। शंकरपुर बजारमा विभिन्न दैनिक उपभोग्य वस्तुहरू सुलभ र सुपथ मूल्यमा पाइन्छन्। 

शंकरपुरको पश्चिममा पस्ती गाउँ रहेको छ।  पश्चिममा पस्ती, बुदेखोला, थकतोली, मौबसे, धामीगाडा, लेट्ठे, मानै, सजानी, सिराड, रेवली, भर्तोला, सुत्तने लगाषतका गाउँबस्तीहरू रहेका छन्। पस्ती गाउँलाई तराईको कुनै समथर फाँटसँग तुलना गर्दा पनि फरक नपर्ला। यो ठाउँ काशीराम पन्त (तहविलदार) ज्यूको बसोबास स्थल पनि हो। जसले राणाकालिन शासनको अन्त्यहुने बेला वि.सं. २०१० सालमा शंकरपुर हाई स्कुलको स्थापना गरेका थिए। जसले शिक्षाको उज्यालो घामबाट कसैले पनि बन्चित हुनु नपरोस् भन्ने ध्येयका साथ अहोरात्र खटिएर दार्चुला जिल्लाकै पहिले हाईस्कूल स्थापना गरि जनतालाई ठुलो गुन लगाएको छ। विद्यालय स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउने महापुरुष द्वय स्वर्गीय काशीराम पन्त तहविलदार बाजे र स्वर्गीय दामोदर जोशी (डाक्टर बाजे) लाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु। शंकरपुर हाइस्कुलको बारेमा चित्रण गर्दैगर्दा स्कुल स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउने ती महापुरुषद्वयको संक्षिप्त जीवनी उल्लेख नगर्दा यो लेखनै अधुरो हुने सम्झेर ती समाजसेवीहरूको छोटो परिचय उल्लेख गर्न चाहन्छु।

काशीराम पन्त (तवहिलदार बाजे)

वि.सं.१९६७ साल चैत्र महिनामा पस्ती गाउँमा जन्मनु भएका काशीराम पन्त भारद्वाज गोत्रीय सिरोडे पन्त हुन। यी मनी पन्तका नाति र कल्यान पन्तका छोरा हुन्। दुःखद कुरा बुवाको निधनले यिनी गर्भे टुहुरा थिए। पन्त बाजेको शिक्षा दिक्षा मावलीघर श्रीकोट बैतडीमा भएको थियो। शिक्षा ग्रहण गरी २५ वर्षकै उमेरमा तत्कालिन अमिनी अदालत दार्चुलामा ६ वर्षसम्म तवहिलदारको नोकरी गरि तत्पश्चात समाज सेवामा संलग्न भएका थिए। वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा दार्चुलाका नेपाली काँग्रेसका उम्मेदवार किशनलाल  लेखकलाई विजय गराउन सफल व्यक्तित्व नेपाली काँग्रेस समर्थक थिए भन्दा अत्युक्ति नहोला। काशीराम पन्तकै नेतृत्वमा वि.सं. २०१६ सालमा शंकरपुर पस्तीमा आयुर्वेदिक औषधालय खुलेको थियो। तर, २०१७ सालमा संसदीय व्यवस्था अन्त्य भएपछि तत्कालिन अञ्चल पञ्चायत सभापति रणबहादुर चन्दले उक्त अस्पताल आफ्नो गाउँ बैतडी गाजरीमा सारेकाले शंकरपुर पस्ती अस्पताल विहिन हुन पुगेको थियो। पटक पटकको प्रयासबाट शंकरपुरमा स्वास्थ्यचौकी स्थापना भएको थियो।

शैक्षिक रुपमा पिछडिएको दुर्गम विकट पहाडी जिल्ला दार्चुलामा प्रथम मिडिल स्कूलको रुपमा वि.सं. २०१० सालमा  स्थापना गरि स्वीकृति लिने अभिभारा काशीराम पन्त बाजेको थियो। विद्यालय स्थापना, स्वीकृति, भवन, फर्निचर निर्माण, विद्यालय सञ्चालन आदिमा पन्त बाजेले महत्त्वपूर्ण योगदान गरेको कुरालाई कसैले पनि बिर्सनु हुँदैन र बिर्सने पनि छैनन्। पन्त बाजेलाई हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। यिनले जनश्रमदानबाट भवन निर्माण गर्ने देखि शिक्षकहरूको तलब, भौतिक सामानहरू खरिदगर्नको लागि गाउँबस्ती डुलेर रकम संकलन गर्ने काममा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। विद्यालय भवन निर्माणमा औल्लेकी धामी गुमान सिंहका छोरा लाल सिह धामीको सीप, योगदान र कलाकारितालाई पनि इतिहासले विर्सने छैन। विद्यालय निर्माणको क्रममा सबैभन्दा बढी चन्दा हरिभक्त पन्तबाट दिईएको थियो।

वि.सं. २०१८ सालमा श्रीकान्त अधिकारीको सर्वाधिकार सम्पन्न दौडाहाबाट अस्थाई स्वीकृति र तत्कालिन बैतडीका शिक्षा अधिकारी बद्रीनारायण बर्माबाट स्थायी स्वीकृतिलिई  शंकरपुर हाईस्कूल पस्ती स्थापनाभई वि.सं. २०२० सालमा एसएलसी को पहिलो ब्याच परीक्षा दिन पुगेको थियो । यस दार्चुला जिल्लाको प्रथम हाईस्कूलको रुपमा स्थापित शंकरपुर हाईस्कूल पस्तीबाट प्रथम एसएलसी पास गर्ने व्यक्ति वि.सं. २००३ सालमा शंकरपुर पस्तीमा जन्मनु भएका दयाकृष्ण पन्त थिए। हाल वहाँ अधिवक्ता तथा समाजसेवी व्यक्तित्वका रुपमा परिचित हुनु हुन्छ। विद्यालयको लागि चाहिने आवश्यक सरसामानको जोहो गर्न अहोरात्र खटिएर तत्कालिन आवश्यक्ता पूरागर्नु भएका पन्तबाजेलाई कोटीकोटी नमन गर्न चाहन्छु। भारतको पिथौरागढ, मेरठ, टनकपुर, बुलन्दशहर जस्ता दूरदरारबाट योग्य शिक्षकको व्यवस्था गर्दै सक्षम हाईस्कूलको रुपमा सफल बनाउन अहम भूमिका रहेको कुरालाई नकार्न ससकिदैन। शैक्षिक क्षेत्रमा सफलता पश्चात् शंकरपुरमा हुलाक सेवा, स्वास्थ्यचौकी स्थापनामा काशीराम पन्त बाजेको अविस्मरणीय योगदान रहेको छ।

वि.सं. २०१९ साल भाद्र महिनामा बझाङ्गी राजा रामजङ्गगका छोरा ओमजङ्ग आफ्नो गुमेको राज्य फिर्तालिन करीब १०० जनाको हतियारधारी सेना बझाङ्ग आक्रमणगर्न भनी नेपाली काँग्रेसको सशस्त्र आन्दोलनको रुपमा उकुमा महाकाली नदी पारगरी शंकरपुरमा पुग्दा त्यहाँ विद्यालय वार्षिकोत्सब मनाई रहेका काशीराम पन्त, दामोदर जोशी र कर्ण बहादुर पाललाई आमन्त्रण गरि बझाङ्ग गएका र आफ्नो डायरीमा उक्त वयक्तिहरूले सहयोग गरेको कुरा उल्लेख भएको डायरी मृत्यु पश्चात् शाही नेपाली सेनाले फेला पारेकाले सोही आधारबाट तत्कालिन बैतडीका बडाहाकिम सत्यनारायण झाबाट पक्राउ गराई राजकाज मुद्दा लगाई पक्राउ गरेका थिए।

अनुसन्धानका क्रममा ओमजङ्गका सेना समेतलाई खाना खान आफ्नो पसलबाट रासन दिए वापत पसले मोतीराम पन्त र तरकारी सागपात दिए बापत लक्षमण रावललाई ७ दिन थुनामा राखी मुक्त गरेका थिए भने काशीराम पन्त, दामोदर जोशी र कर्ण बहादुर पाललाई २०१९ असोज देखि २०२० अषाढसम्म १० महिना कैदगरी मुक्त गरेका थिए। यसरी पञ्चायतको बिरोध गरि जेल यातना भोगेका कारण शंकरपुर पस्ती क्षेत्र पञ्चायतकाल भरी दार्चुला जिल्लाको पञ्चायत विरोधी गितिबिधिकै कारण दार्चुला जिल्लामा सार्वजनिक सुरक्षा कानून भित्र राजनैतिक बन्दीका रुपमा जेल जीवन विताउने चन्द्रदेव जोशी, हरिभक्त पन्त, दयाकृष्ण पन्त, गोकुलदेव भट्ट, भोजराज जोशी यसै शंकरपुर पस्तीका बासिन्दा हुन्। दार्चुलाका अग्रज शिरोमणी, शिक्षाको ज्योती फैलाउने शिक्षाविद काशीराम पन्त बाजेको भौतिक शरीर २०३१ साल जेष्ठ १७ गते ६४ वर्षको उमेरमा ब्रह्मलीन भए पनि  वहाँको अभिभावकत्वले शंकरपुर पस्ती मात्र नभै सम्पूर्ण दार्चुला जिल्लाको मुहार फेरिएको अनुभूति मैले गरेको छु।

दामोदर जोशी (डाक्टर बाजे)

दामोदर जोशीको जन्म हालको मालिकार्जुन गाउँपालिका अन्तर्गत वडा नम्बर ८ सिराडी गाउँमा वि.सं. १९७४ सालमा भएको हो। यी गंगादत्त जोशीका कान्छा छोरा हुन्। वि.सं. १९९२ सालमा हालको लेकम गाउँपालिका अन्तर्गत लाली कौलेती गाँउकी सितादेवी पन्तसँग विवाह भएको थियो। वि.सं. १९९५ सालमा भारतको ऋषिकेशमा २/३ वर्ष आयुर्वेदिक विषयको अध्ययन गरी फर्केर गाउँघरमा आयुर्वेदिक उपचार गर्ने गरेबाट यिनी गाउँघरतिर डाक्टर भनेर कहलिएका थिए। मृत्यु पश्चात पनि यिनको नाम डाक्टरको नामले प्रचलित रहेको छ। दामोदर जोशी सबैमा परिचित नाम थिएन। वि.सं. २००४ देखि २००६ सम्म कपडाको व्यापार सुरु गरेका डाक्टर बाजेले केही समय पश्चात् व्यापार छोडेर सामाजिक सेवातिर लागे। यिनी पञ्चायत विरोधी आनेदोलनका सक्रिय कार्यकर्ता थिए। वि.सं.२०१० देखि २०१२ सम्म तत्कालिन गौरी पार्वती गाउँपञ्चायतका सरपंच समेतभई जनताको सेवा गरेका थिए।

वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रबाट संसदीय व्यवस्था भङ्गगरी पञ्चायती व्यवस्थाको सुरुवातीसँगै नेपाली काँग्रेसले तत्कालिन पञ्चायत व्यवस्थाको विरोधमा सशस्त्र विरोधगर्ने क्रममा  वि.सं. २०१९ साल भाद्र महिनामा बझाङ्गी राजा रामजङ्गगका छोरा ओमजङ्ग आफ्नो गुमेको राज्य फिर्तालिन करीब १०० जनाको हतियारधारी सेना बझाङ्ग आक्रमणगर्न भनी नेपाली काँग्रेसको सशस्त्र आन्दोलनको रुपमा उकुमा महाकाली नदी पारगरि शंकरपुरमा पुग्दा त्यहाँ विद्यालय वार्षिकोत्सव मनाई रहेका काशीराम पन्त, दामोदर जोशी र कर्ण बहादुर पाललाई आमन्त्रण गरि बझाङ्ग गएका र आफ्नो डायरीमा उक्त वयक्तिहरूले सहयोग गरेको कुरा उल्लेख भएको डायरी मृत्यु पश्चात् शाही नेपाली सेनाले फेला पारेकाले सोहि आधारबाट तत्कालिन बैतडीका बडाहाकिम सत्यनारायण झाबाट पक्राउ गराई राजकाज मुद्दा लगाई पक्राउ गरेका थिए।

तत्कालिन राजकाज मुद्दामा प्राण दण्डको सजायदिने कानुनी व्यवस्था भएपनि स्थानीय जनताको दवाबका कारण र ब्राह्मण खानदानकै व्यक्ति भएबाट पनि १० महिने जेल सजाय भुक्तानगरी मुक्त भएका थिए। जेल जीवनकालमा पनि यिनी जेल बाहिर जडिबुटी खोजी ल्याउन छुट दिइएको थियो। जेल जीवनकालमा पनि यिनी औषधी बाँड्ने काम गर्दथे।

शंकरपुर हाइस्कुल स्थापनामा डाक्टर बाजेको महत्त्वपूर्ण योगदानको शंकरपुरबासी तथा दार्चुलाबासीले युगौंयुग कदर गरि रहने छन्। यिनका दुई छोरा बंशीधर जोशी र भुधरमणी जोशी हुन्। मलाई विद्यालय जीवनमा शिक्षा दिने आदरणीय गुरु बंशीधर जोशीको वि.सं.२०७० सालमा असामयिक निधन भएकोमा श्रद्धासुमन अर्पण गर्न चाहन्छु। वि.सं. २०२६ सालमा शंकरपुर गाउँ पञ्चायतका प्रधानपंचमा निर्वाचित भै जनताको सेवा गर्ने क्रममा वि.सं. २०२८ सालमा निधन भयो। यी साहित्यप्रेमी, लोक संस्कृतिका धनी, ड्यौडा गितका प्रखर वक्ता थिए ।  यी प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने भएकाले दीन दुस्खी, गरीब जनताको पक्षमा सक्रिय हुन्थे । धर्म र कानुनको सकारात्मक प्रयोगमा जोड दिने गर्दथे । उखान, टुक्का र कहानीको माध्यमबाट शोषक सामन्तीको व्यङ्गात्मक भाषणका माध्यमबाट खरो उत्रने व्यक्तित्व डाक्टर बाजेलाई कोटी कोटी नमन गर्दछु।

शंकरपुर हाइस्कुल सन्दर्भः

वि.सं.२०१० सालमा स्थापना भएको यस विद्यालयबाट देशले हाल सम्म ठुल्ठुला महान सपुतहरू जन्माइ सकेको छ। तत्कालिन समयमा राणा शासनको अन्त्यसंगै देशमा प्रजातन्त्रको जग बसाउने प्रयास गरिएता पनि उचित मलजलको अभावमा प्रजातन्त्र फस्टाउन नसक्नुको तितो यथार्थ त छदैछ। तथापि विद्यालयको शैक्षिक प्रगति भने निरन्तर ओकालो लागिरहेको देख्दा जो कोहिकोलागि पनि गर्वको कुरा नै हुन सक्छ।

यस विद्यालयले हालसम्म देशमा उच्च पदस्थ कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, राजनीतिज्ञहरू आदि उत्पादन गरि सकेको छ। तत्कालिन समयमा जिल्लाकै पहिलो हाईस्कूल भएबाट पनि सुदूरपश्चिम प्रदेशमै र विशेषगरी दार्चुला जिल्लाको ख्यातिप्राप्त  ठाउँ शंकरपुर पस्ती हो। नाम, सुगमता, हावापानी आदिले गर्दा त शंकरपुरको महिमा वर्णनगर्न म संग पर्याप्त शब्दको अभाव छ जस्तो लाग्छ। शंकरपुरले जुन गतिमा छलाङ मार्नु पर्ने थियो, त्यो गति लिन नसक्दा शंकरपुरको शैक्षिक, आर्थिक, भौतिक आदि विकासका कार्यहरू ओझेलमा परेका छन्। वर्तमान अवस्थामा शंकरपुरमा राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ सम्मको पढाइ दक्ष तथा तालिमप्राप्त शिक्षकहरूद्वारा सञ्चालन भइरहेको छ। त्रिभुवन विश्वविद्यालय द्वारा सम्बन्धन प्राप्त शंकरपुर क्याम्पसमा स्नातक तह सम्मको शिक्षा शास्त्र संकाय र विज्ञान संकायको पढाइ हुने गर्दछ।

                             

स्रोतः पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास, महेन्द्रनगर, कञ्चनपुर

                            मानसिंह धामी 

                            उपप्राध्यापक

               कैलाली बहुमुखी क्याम्पस, धनगढी

               स्थायी ठेगानाः-मालिकार्जुन गाउँपालिका-४ गोठ्युडी (भौनबाटा) दार्चुला

कमेन्ट लोड गर्नुस