घरमै बस्ने महिलाले ‘शनिबारे’ मेलाबाट आम्दानी गर्न थालेपछि दङ्ग
धनगढीः कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको शनिवारे महिला उद्यमी मेलामा धनगढी–८ की उमादेवीले सेल रोटी र पकौडाको स्टल राखेकी थिइन्।
घरमै समय बिताउने उमादेवी शनिवारे मेलाका कारण आफ्नो आम्दानीको बाटो खुलेकोमा उत्साहित थिइन्। यस्तै, मोहनपुरकी उमा तामाङले शनिवारे मेलामा अचारको स्टल राखेकी थिइन्। अघिल्लो शनिवार स्टल बुकिङ भएका कारण अचारको स्टल राख्न नपाएको बताउने तामाङले यो पटक चार किसिमको अचार बिक्रीको लागि राखेकी छन्।
मेलाका कारण अचार बनाउने उत्साह बढेको र मेला हप्तामा दुई दिन लगाए महिलाले आम्दानी गर्न थप सहज हुने तामाङको सुझाव छ। ‘मेला एकदम राम्रो छ। गत शनिवार स्टल बुकिङ भइसकेकाले पाएन। यो पटक चार किसिमको अचार राखेकी छु,’ उनले भनिन्, ‘मेला लाग्दा घरमै बस्नुपर्ने र बनाएको अचार बिक्री गर्न समस्या थियो। अब सहज हुने भएको छ। मेला हप्तामा दुई दिन लागे झन राम्रो हुन्थ्यो।’
मंसिर ८ गतेको शनिवारे मेलामा धनगढीका महिला उद्यमीले ६० वटा स्टलमा आफूले बनाएका बस्तु र खाना तथा खाजाको परिकार राखेका थिए। मेलामा रानाथारु, चौधरी तथा पहाडी खानाका परिकारहरू राखिएका थिए। मेला लगाउन सुरू भएकाले घर बसेका बेरोजगार महिलालाई आम्दानीको अवसर जुटेको धनगढी–८ की रन्जिता रानाले बताइन्। उनले उपमहानगरले मेला लगाउन थालेकाले महिलाका लागि आम्दानी गर्ने बाटो खुलेको बताइन्।
स्कुले बालबालिका पनि खुसी
विभिन्न परम्परागत खाना तथा खाजाको परिकार बनाउन जान्ने महिलाका लागि आम्दानीको बाटो खुलेको मेलामा आएका उद्यमी महिलाको तर्क छ। महिलाहरूले समूहमा मिलेर समेत स्टल राखेका थिए। यस्तै मेलामा भएको सांस्कृतिक प्रतियोगिता भाग लिनआएका विद्यालयका बालबालिका समेत निकै खुसी देखिन्थे।
धनगढी–१६ बेहडाबाबा माध्यमिक विद्यालयका छात्राहरूले पहिलो चोटी मेलामा आएको तथा निकै रमाइलो लागेको बताए। नृत्य देखाउन बेहडाबाबा विद्यालयबाट छात्राहरुको दुई समूह आएको थियो। धनगढीका १० वटा विद्यालयका विद्यार्थीहरूले नृत्य प्रतियोगितामा भाग लिएका थिए।
नृत्यमा एरिष्टो स्कुल प्रथम
नृत्य प्रतियोगितामा १० वटा विद्यालयका बालबालिकाले भाग लिएका थिए। प्रतियोगितामा धनगढी–८ को एरिष्टो माध्यमिक विद्यालय प्रथम, धनगढी–१२ को मिलन माध्यमिक विद्यालय द्वितीय, धनगढी–५ को शैलेश्वरी माध्यमिक विद्यालय तृतीय तथा धनगढी–२ को शारदा माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार पाएका छन्। प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगर पुरस्कार प्रदान गरिएको छ।