सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताहरुले खेलौना बनाउँदा सेती अञ्चल अस्पताल धरासयी हुने चिन्ता

२०७५ चैत्र २३, ०२:४७ नवराज पनेरु

२०७४ साल मंसिर २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपछि नेताहरु जित्नका लागि विभिन्न चुनावी एजेण्डा बनाउनमा सक्रिय थिए। देशमा काग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको सरकार थियो। सेती अञ्चल अस्पताल रहेको क्षेत्र अर्थात कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा देउवा पत्नी आर्जु राणा देउवाले प्रतिनिधि सभामा उम्मेदवारी दिईन्। निर्वाचनको माहोल तातिसकेको थियो भने निर्वाचन आयोगले आचार संहिता पनि लागु गरिसकेको थियो। सो अवधीमा सरकारले विभिन्न निर्णयहरु गर्न नपाउने नियम नै थियो। राणा चुनावी प्रचारमै रहेका बेला सुरुमा धनगढी र त्यसपछि सुदूरपश्चिमभरी नै एउटा हल्ला चल्यो ‘३५ बर्षदेखि स्तरोन्नतीको पर्खाईमा रहेको सेती अञ्चल अस्पतालको तीन सय शैयामा स्तरोन्नती भयो’। चुनावी माहोल भएकाले काग्रेस नेतृ राणाले यस्लाई प्रमुख चुनावी एजेण्डा बनाईन् र आफ्नै पहलमा ५० शैयाको सेती अञ्चल अस्पताललाई तीन सय शैयामा स्तरोन्नती गरेको दाबी गरिन्। 
मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मुखैमा सेती अञ्चल अस्पतालाई आफ्नो पहलमा तीन सय शैयामा स्तरोन्नती गराएको भन्दै काग्रेसकी नेतृ राणाले चुनाव प्रचार गरिरहेकै समयमा मंसिर ९ गते नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले सेती अञ्चल अस्पतालमा कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट बनेका उम्मेदवारलाई बोलाएर अस्पतालको सुधारका लागि प्रतिबद्धता माग्ने कार्यक्रम राख्यो। उक्त कार्यक्रममा पनि राणाले आफ्नै पहलमा सेती अञ्चल अस्पतालको स्तरोन्नती भएको भन्दै दाबी गरिन्। 

काग्रेस सभापति शेर वहादुर देउवा त्यति बेला प्रधानमन्त्री भएकाले धेरैले मन्त्रीपरिषद्ले स्तरोन्नतीको ठाडो निर्णय गरे होलान भन्ने आशा पनि गरे। राणाले तीन सय शैयाको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले सोही कार्यक्रममा नौलो घोषणा गरे। उनले टेवल ठट्याउदै ५ सय शैयाको प्रादेशिक अस्पताल बनाउने दाबी गरे। निर्वाचनको अवधीभर रानाले सेती अञ्चल अस्पताललाई ५ सय शैयामा स्तरोन्नती गर्ने भन्दै भोट मागे भने राणाले आफ्नै पहलमा सेती अञ्चल अस्पतालको तीन सय शैयामा स्तरोन्नती भएको दाबी गर्दै भोट मागिन्। मंसिर २१ म मतदान भयो, त्यसको झण्डै ५ दिनपछि नतिजा आउँदा बाम गठबन्धनका उम्मेदवार नारदमुनी राना विजयी भए। 

सो अवधीभर सेती अञ्चल अस्पतालले अस्पताल स्तरोन्नती भएको हल्ला सुनेपनि आधिकारीक पत्र भने पाएको थिएन्। चुनावको माहोल भएकाले पत्र पठाउन ढिलाई गरिएको होला भन्ने आशंका अस्पताल प्रशासनलाई थियो। तर चुनाव सकिएको एक बर्ष सम्म पनि न आर्जुले भने जस्तै तीन सय शैयामा स्तरोन्नती भएको पत्र आयो न त नारदमुनीको ५ सय शैयामा स्तरोन्नती भयो। सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न ५ सय शैयाको प्रादेशीक अस्पताल बनाउने एजेण्डा सहित विजयी भएका रानाले पटक–पटक प्रतिक्रीया माग्दा चुनावको समयमा आर्जुले भनेको तीन सय शैयामा स्तरोन्नती नभएको तर आफु विजयी भएपछि स्तरोन्नती गरिसकेको दावी गरे। तर उक्त विषयमा न अस्पताल प्रशासनलाई जानकारी थियो न त तत्कालीन अस्पताल विकास समितीलाई नै। सेती अञ्चल अस्पताललाई चुनावको मुखमा स्तरोन्नती र सुविधा सम्पन्न बनाउने उम्मेदवारहरुका वाचा पुरा हुन नपाउँदै संघीय स्वास्थ्य विभागले सुदूरपश्चिभरी रहेका सबै अस्पताललाई प्रदेश सरकारलाई हस्तान्तरण गरिदियो। प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेपछि प्रतिनिधि सभा सदस्य नारदमुनी रानालाई पन्छिन सजिलो भएको छ। 

स्थानीय तहको निर्वाचनमा पनि सेती अञ्चल अस्पतालको स्तरोन्नतीको मुद्धा कतिपय उम्मेदावरको प्रमुख एजेण्डा नै बनेको थियो। अहिले स्थानीय सरकार भने सेती अञ्चल अस्पताल आफ्नो मातहतमा नपर्ने भन्दै पन्छीरहेको छ। धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडले सेती अस्पताल आफ्नो मातहतमा नपर्ने र स्तरोन्नतीको निर्णय अहिलेको सरकारले कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका छन्। नेताहरुले ३ सय र ५ सय शैयाको भाषण गर्दै चुनाव प्रचार गरे पनि अस्पताल प्रशासन भने भएकै दरबन्दी पाउनका लागि पनि भौतारिरहेको थियो। 

२९ चिकित्सकको स्थायी दरबन्दी रहेको सेती अञ्चल अस्पतालमा हाल १५ जना डाक्टर मात्रै कार्यरत छन्। सुदूरपश्चिमकै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा साढे तीन दशक पुरानो दरबन्दी समेत पदपुर्ती हुन नसक्दा २८ लाख जनताको जनस्वास्थ्यमाथी खेलवाड भईरहेको छ। चुनावमा सुविधा सम्पन्न प्रादेशिक अस्पताल बनाउने दावी सहित प्रचार प्रशार गरेका नेताहरु, भएकै दरबन्दीको पदपुर्ती र चुस्त व्यवस्थापनका लागी उदासीन छन्। 

अस्पताल अव धरासयी हुने चिन्ता
नेताहरुले खेलौना बनाएको सेती अञ्चल अस्पताल अव धरासयी हुने चिन्ता बढ्न थालेको छ। सुदूरपश्चि प्रदेशमा ८७ जना चिकित्सक रहेकोमा ७९ जनाले समायोजनमा संघले रोजेपछि २ जना कन्सलटेन्ट, तीन जना मेडिकल अधिकृत र तीन जना आयुर्वेदिकले चिकित्सक मात्रै प्रदेश रोजेका छन्। अहिले १५ जना सरकारी डाक्टर हुँदा पनि अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन नसकेको अवस्थामा अब सेती अञ्चल अस्पतालमा बढिमा २ जना मात्रै सरकारी डाक्टर रहने भएपछि अस्पताल नै धरासयी हुने चिन्ता चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीलाई छ। नजिकै रहेको डडेल्धुरा उप क्षेत्रीय अस्पताल र भेरी अञ्चल अस्पतालको भन्दा बिरामीको चाप सेती अञ्चल अस्पतालमा छ तर ती दुवै अस्पताललाई संघीय सरकारको मातहतमा राखिएको छ सेती अञ्चल अस्पताललाई भने प्रदेश सरकारको जिम्मा दिईएको छ।

प्रदेश डाक्टरहरुले नरोज्दा सेती अञ्चल अस्पताल डाक्टर बिहीन हुने चिन्ता सरकारी डाक्टर संघ गोदामका प्रतिनिधि डाक्टर अपिल गौतमलाई पनि छ। अहिले प्रदेश सरकार आफै संक्रमणकालमा रहेकाले सेती अञ्चल अस्पताललाई चलाउन सक्ने अवस्थामा छैन्। सेती अञ्चल अस्पताललाई संघीय सरकारको मातहतमा राखेर मात्रै सुधार गर्न सकिनेमा अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयको पनि तर्क छ। तर यस क्षेत्रका नेताहरुलाई भने भएका डाक्टर पनि सबै अन्यत्र जाने निश्चित भईसक्दा समेत कुनै वास्ता नै छैन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस