सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयोजकलाई पराजित गर्दै स्टार सिटी क्लब गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा

२०७९ चैत्र २५, १०:३७ खबर संवाददाता

कैलालीः स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो। खेलको ८ औँ मिनेटमै स्टार सिटीका कमल देउवाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा रहेको खेलमा ७५ औँ मिनेटमा आयोजक गौरीगङ्गाका नीराजन धामीले १ गोल फर्काएपछि खेल बराबरीमा सकियो।

टाइब्रेकरमा स्टार सिटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गरे। गौरीगंगा स्पोर्ट्सका तर्फबाट प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्र गोल गर्न सके। प्रतियोगिता अन्तरगत आइतबार बाजुरा र नवलपरासी आमनेसामने हुनेछन्। विजेता टोली अन्तिम चारमा पुग्ने छ। स्टार सिटीसँगै  बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन्।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ। १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ।
 

कमेन्ट लोड गर्नुस