सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार वर्षपछि लाग्यो निरौलीको ‘राजसी दसैँ’ मेला

२०८३ कार्तिक ४, ०६:३० खबर संवाददाता

धनगढीः चार वर्षदेखि बन्द रहेको डोटीको जोरायलस्थित ऐतिहासिक निरौली दसैँ मेला यस वर्ष लागेको छ।

सरकारी संरक्षण र बजेटको अभावसँगै बढ्दो बसाइँसराइका कारण ओझेलमा परेको मेला स्थानीयवासीबाट रकम सङ्कलन गरेर सञ्चालन गरिएको हो।
डोटीको जोरायल गाउँपालिका–६ मा लाग्ने निरौली दसैँ मेला कुनै समय अष्टमीदेखि दशमीसम्म भव्य रूपमा मनाइन्थ्यो। पञ्चेबाजाको गुञ्जन, भोस्सी र चौलो खेलको रौनक तथा परम्परागत पूजाआजाले मेलामा उत्साह थप्ने गर्थ्यो। तर, २०७९ सालदेखि मेला पूर्ण रूपमा बन्द भएको वडाध्यक्ष गणेश बोहराले बताए। यस वर्ष भने स्थानीयवासीबाट रकम सङ्कलन गरेर मेला सञ्चालन गरिएको उनले जानकारी दिए।

निरौली दसैँको मुख्य आकर्षण भोस्सी र चौलो खेलसँगै परम्परागत पूजाआजा र राँगोको बलि दिने चलन हो। स्थानीय तीर्थराज भट्टका अनुसार बाबियोको मोटो डोरीले बाँधिएको राँगोलाई पञ्चेबाजासहित भगवती माणौँमा पाँच फन्को घुमाउने परम्परा थियो। त्यसमध्ये दुई फन्को राँगोबिना चौलो खेल्ने र तीन फन्को राँगोसँगै भोस्सी खेल्ने गरिन्थ्यो। भोस्सी र चौलो सम्पन्न भएपछि मात्रै राँगोको पूजा र बलि दिने चलन रहेको उनी सम्झिन्छन्।

डोटेली संस्कृतिविद् निर्मलकुमार भण्डारीका अनुसार निरौली दसैँ सामान्य मेला मात्रै नभई ऐतिहासिक रूपमा राजकीय संरक्षण पाएको पर्व हो। सरकारी गुठीअन्तर्गतको जग्गाबाट सङ्कलित रकमले पूजाआजा र राँगो खरिद गर्ने व्यवस्था मिलाइन्थ्यो। राजाबाट समेत मेलाका लागि रकम आउने र बलि दिने क्रममा राजाको नाम सम्बोधन गरिने भएकाले यसलाई ‘राजसी दसैँ’ भनिएको उनको भनाइ छ।
डोटेली राजा निरैपालको पालादेखि सुरु भएको मानिने यस मेलामा विभिन्न समुदायको सहभागिता रहने गरेको थियो।

कमेन्ट लोड गर्नुस