गौरीगङ्गा गोल्ड कप : आयोजक क्वाटर फाइनलमा
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा मंगलवारदेखि सुरु भएको फुटबल खेलमा आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको छ। तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगङ्गा–११ स्पोट्र्स क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो।
उद्घाटन खेलमा पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको छ। खेलको ११ औँ मिनेटमा डोटीका खेलाडी हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए। ४० औँ मिनेटमा आयोजकका तर्फबाट गणेश लुहारले गोल गर्दा पहिलो हाफको खेल बराबरीमा सकियो। दोस्रो हाफको ७६ औँ मिनेटमा डी बक्स भित्र गौरीगङ्गाका खेलाडीमाथि फल भएपछि पेनाल्टी पाएको उसले दिनेश थापाले पेनाल्टी गोल मार्फत खेललाई खेल २–१ को अवस्थामा पुग्यो। खेलको ८१ औँ मिनेटमा आयोजकका जनक साउँदले गोल गर्दै टिमलाई सहज जित दिलाए । खेलको प्लेयर अफ दी म्याच पनि उनी नै चुनिए।
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आजै सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले समुद्घाटन गरेका थिए।
चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।