हिमालयन बैंक र नवजीवन सहकारी विजयी
धनगढीः नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा हिमालयन बैंक विजयी भएको छ।
शनिबार धनगढीमा भएको फाइनलमा खेलमा हिमालयनले एसबीआइ बैंकलाई ४–० गोलअन्तरले हराएको हो। हिमालयनका किशोर पनेरुले दुई तथा जीवन शाही र शौरभ थापाले एक÷एक गोल गरेका थिए। नेपाल बैंकले तृतीय स्थान हासिल गरेको छ।प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, एसबीआइ बैंकलगायत नौ वटा टीमको सहभागिता रहेको थियो।
संघकै आयोजनामा शनिबार भएको ब्याडमिन्टन प्रतियोगितामा नवजीवन सहकारी संस्था लिमिटेडका चेतराज पाण्डेय र जितबहादुर थापाको टीमले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै कृषि विकास बैंकका दीपक कुँवर र दिलबहादुर चौधरीको टीमले द्धितीय र राष्ट्रिय वाणिज्य बैंकका प्रभुराज जोशी र केशव गिरीको टीमले तृतीय स्थान हासिल गरेको छ।
ब्याडमिन्टन प्रतियोगितामा विभिन्न छ वटा बैंकका १० वटा टीमको सहभागिता रहेको प्रतियोगिताका रेफ्री प्रकाश सिंहले जानकारी दिए। संघले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवसरमा फुटसल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो। विजयी टीम तथा खेलाडीलाई यही चैत २२ गते औपचारिक कार्यक्रमका बीच नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए। बै बैंकबीच एकता र समन्वय बढाउन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए।
प्रतियोगिताहरुमा फियोन कृषि विकास बैंकका सुदूरपश्चिम अध्यक्ष नारद बोगटी, फियोन नेपाल बैंकका प्रदेश अध्यक्ष पदमराज जोशी, फियोन राष्ट्रिय समिति सुदूरपश्चिम अध्यक्ष दीर्घबहादुर शाहलगायतको उपस्थिति रहेको थियो।