सुदूरपश्चिममा विद्युत उत्पादन दोब्बर, कुन जिल्लामा कति?
धनगढीः बझाङमा निजी क्षेत्रको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ३८.४६ मेगावाट र तल्लो कालंगागाड आयोजनाको १५.३३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिममा झन्डै दोब्बर विद्युत् उत्पादन हुने भएको छ। दुई वर्षअघिसम्म सुदूरपश्चिममा ४६ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो भने साना आयोजनासहित ५१ मेगावाट उत्पादन हुँदै आएको छ।
अब कालंगागाडका दुई आयोजना जोडिएपछि १ सय ५ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो। यसमा बझाङ रंगुनगाड जलविद्युतबाट १ मेगावाट, ज्युलिगाड जलविद्युत् आयोजनाबाट ३.५ मेगावाटलगायत गाउँका लघु विद्युत् योजनासमेत जोडिएका छन्। यसअघिका चमेलिया, अपि हाइड्रोसमेत पर्छन्। आयोजनाका निर्देशक वीरेन्द्र मल्लका अनुसार कालंगा हाइड्रो लिमिटेडले तीन वर्षअघि ६४.४९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो। ‘त्यसमध्ये ५४ मेगावाट उत्पादन भइरहेको र १० मेगावाट अन्तिम चरणमा पुगेको छ।’
विद्युत पहुँच बढ्यो
सुदूरपश्चिम प्रदेशमा ८१ दशमलव ३ प्रतिशत घर परिवारमा जलविद्युतबाट बत्ति बल्ने गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले जनाएको छ। तथ्यांक अनुसार सुदूरपश्चिममा १६.३ प्रतिशत परिवारले सौर्य उर्जाबाट बत्ति बाल्ने गरेका छन् भने ०.३ प्रतिशत परिवारले मट्टितेल, ०.०४ प्रतिशत परिवारले बायो ग्याँस र २.९ प्रतिशत परिवारले अन्य सामग्री प्रयोग गरेर उज्यालो पाउने गरेका छन्।
कुल पाँच लाख ७६ हजार ७७२ परिवार रहेको चार लाख ६८ हजार ८०५ परिवारले विद्युत सुविधाको पहुँचमा छन्। ९४ हजार ६ परिवारले सौर्य उर्जा, एक हजार ६४६ परिवारले मट्टितेल, २१० परिवारले बायो ग्याँस प्रयोग गर्ने गरेका छन्। १२ हजार २०५ परिवारले झोरोलगायतका अन्य सामग्री प्रयोग गरेर उज्यालो पाउने गरेका छन्।
१३ हजार ९६१ परिवार पहुँच बाहिर
सुदूरपश्चिममा विद्युत सेवा नपुगेको सबैभन्दा बढी परिवार छन्। अछाममा तीन हजार ८४९, डोटीमा एक हजार ९८५, कैलालीमा एक हजार ७८७, कञ्चनपुरमा एक हजार ३६४, बझाङमा एक हजार २१८, डडेल्धुरामा एक हजार ८६, बैतडीमा एक हजार ६३, दार्चुलामा ८३१ र बाजुरामा ७७८ परिवारले विद्युत सेवा नपुगेको हुनाले मिट्टीतेल, बायो ग्यास, झुरोलगायतका अन्य सामग्री बाल्ने गरेका छन्।
१९ प्रतिशत अन्धकारमै
नेपाल सरकारले आर्थिक वर्ष २०८०÷८१ सम्म देशका सबै घरधुरीमा विद्युत सेवा पु¥याइसक्ने लक्ष्य लिएको छ। तर सुदूरपश्चिम प्रदेशमा अझै १९ प्रतिशत घर परिवार जलविद्युतको पहुँच बाहिर छन्। प्रदेशको बाजुरामा १८.३, बझाङमा १४.९, दार्चुलामा २९.१, बैतडीमा ५०.१, डडेल्धुरामा १९.८, डोटीमा २७.४, अछाममा ४६.७ र कैलालीमा ५ र कञ्चनपुरमा २ प्रतिशत घर परिवारलाई विद्युत सेवा नपुगेको राष्ट्रिय जनगणना २०७८ ले जनाएको छ।
आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा नेपाल सरकारले उज्यालो नेपाल अभियान अन्तरगत सो लक्ष्य निर्धारण गर्दा सुदूरपश्चिममा ६४ प्रतिशत विद्युतीकरण भइसकेको थियो। नेपाल विद्युत प्राधिकरणले २०७६ मा सुदूरपश्चिममा प्राधिरणको ग्राहक संख्या २ लाख ४१ हजार छ थिए भने २०७८ मा तीन लाख ६० हजार १२३ पुगेको छ। प्राधिरकणले दुई वर्षमा एक लाख १९ हजार ११७ ग्राहक थपेको छ।
उज्यालो नेपाल अभियान अन्तरगत सुदूरपश्चिमको तीन जिल्ला (कैलाली, कञ्चनपुर र डोटी) मा आर्थिक वर्ष २०७६÷७७ भित्रै पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको थियो तर ती जिल्लामा अझै २४ हजार ४६० परिवार विद्युतको पहुँच बाहिर छन्। नेपाल विद्युत प्राधिकरणले निर्धारित लक्ष्य पूरा हुने गरी विद्युतीकरण गर्न सकेको छैन।
विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक जंगबहादुर चन्दले प्राधिरकणले बजेटको व्यवस्था गरेर विद्युतीकरणका सामग्रीहरु उपलब्ध भएमा दुई वर्षभित्रै पूर्ण विद्युतीकरण गर्न कठिन नहुने बताए। सुदूरपश्चिमका ६ वटा आयोजनाबाट १०६ मेगावाट जलविद्युत राष्ट्रिय प्रशारण लाइनमा उपलब्ध छ। पश्चिम सेती र सेती–६ बनाउन सरकारले भारतीय कम्पनी एनएचपिसि लिमिटेडसँग सम्झौता गरेको छ।
९ आयोजना निर्माणाधिन
विद्युत् प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट विद्युत् उत्पादन हुने गरी थप ९ वटा विद्युत् आयोजना निर्माणाधीन छन्। ५४ मेगावाटका ६ वटा आयोजनाको विद्युत् खरिद सम्झौतासमेत भइसकेको छ। ३ हजार ६ सय १४ मेगावाटका २० वटा विद्युत् आयोजनाको अध्ययन भइरहेको छ। १०६ मेगावाट क्षमताका ४ वटा आयोजनाको अध्ययन चरणमा छ।
प्राधिकरणका अनुसार सरकारले ९४ मेगावाटका १२ आयोजना बास्केटमा राखेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको तथ्यांकअनुसार सुदूरपश्चिम देशभरिमै सबैभन्दा बढी विद्युत् उत्पादन क्षमता भएको प्रदेश हो। सुदूरपश्चिममा १८ हजार १ सय ४९ मेगावाट विद्युत् उत्पादन क्षमता छ। पछिल्लो समय सुदूरपश्चिमको कैलालीमा कापडीगाड ३३ मेगावाट, दार्चुलामा मकरीगाढ १० मेगावाट, पानीगाड १० मेगावाट, बझाङकै नवगाड र मथिल्लो नवगाड गरी ९ मेगावाट निर्माणाधीन छन।