मुख्यमन्त्री शाह २१ गते विश्वासको मत लिने मुडमा, यस्तो छ मत पाउने आधार
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहमति जुट्ने वित्तिकै विश्वासको मत लिने मुडमा देखिएका छन्। राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको आठ दलीय गठबन्धनका कारण शाहले विश्वासको मत पाउने सम्भावना बलियो देखिएको छ।
तर अहिलेसम्म केन्द्रको गठबन्धनले सुदूरपश्चिममा शाहलाई विश्वासको मत दिने भन्ने निर्णय भने भएको छैन। सोमवार मात्रै मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौंबाट धनगढी फर्किएका छन्। काठमाडौं बसाइमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेसका नेताहरूसँग विश्वासको मत पाउने वातावरण बनाउन भेट गरेका थिए।
विश्वासको मत पाउनेमा आशावादी भए पनि कहिले र कुन–कुन दलले शाहलाई विश्वासको मत दिन्छन् भन्ने विषयमा ठोस निर्णय भइनसकेको मुख्यमन्त्री शाहले बताए। ‘विश्वासको मत कहिले लिने भन्ने टुङ्गो लागेको छैन,’ उनले भने, ‘केन्द्रमा एक किसिमको सहमति बन्ने वित्तिकै फागुन २१ गते भित्र विश्वासको मत लिने तयारी छ।’
गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता शाह सबैभन्दा ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शाहले फागुन २५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान छ। तर, विश्वासको मतबारे छिनोफानो गर्न भने केन्द्रीय नेताहरूको मुख ताक्नुपर्ने अवस्था छ।
केन्द्रमा बन्ने सहमति वा असहमति प्रदेश सरकार बनाउन र गिराउन निर्णायक हुँदै आएको छ। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने विषयमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिको निर्णय पर्खनुपर्ने बाध्यता छ। नागरिक उन्मुक्ति या नेकपा माओवादीमध्ये कुनै एक दलको समर्थन बिना शाहले विश्वासको मत नपाउने अवस्था छ।
यस्तै, नेकपा माओवादीभित्र प्रदेश सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने मत रहेका कारण पनि पार्टीले निर्णय गर्न सकेको छैन। शाह मुख्यमन्त्री रहिरहने या नरहने भन्ने विषय एमालेले नेतृत्व गरिरहेको प्रदेशमा कुन पार्टीले कहाँ नेतृत्व गर्न पाउने भन्ने सहमतिले पनि निर्धारण गर्नेछ।