पीएनजीमाथि नेपालको सहज जित
काठमाडौँः आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ।
सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेले। ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे।
आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए। लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए। आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए।कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो। नेपालका लागि गुलशन झाले तीन विकेट लिए। त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो। जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ।
यो जितले नेपालको एकदिवसीय मान्यता जोगाउन झनै सहज हुनेछ। अब नेपालले एकदिवसीय मान्यता जोगाउन चार खेल जित्नु पर्नेछ भने विश्वकप छनोटमा पुग्न ६ खेल जित्नु पर्नेछ।