श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडौँ: श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्नुहुने भएको छ।
तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन्। उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन्। दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन्।
रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन्। त्यसमा उनले छ विकेट लिएका छन्। ब्याटिङमा ७७ रन बनाएका छन्। उनको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो। घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन्।
यसै क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो। उनले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन्।
प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रत्नायकेले ३७८ विकेट लिएका छन्, भने एक हजार ९२३ रन बनाएका छन्। त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन्।