सुदूर नेपाललाई विश्वसँग जोड्दै

हामी कहिले सुध्रिन्छौँ होला!

२०७९ फाल्गुन १३, १२:१२ नारायण अवस्थी

धनगढीः नियम पालन गर्न कोही सानो र कोही ठुलो हुन्न्। नियमका लागि सबै समान हुन्छन्। अशक्तका लागि फरक नियम हुन सक्छ। तर, शक्तहरुका लागि नियममा 'नो सम्झौता' भन्ने मान्यता लागु कहिले होला? नियमको पालना गर्नुमा गर्व मान्ने दिन कहिले आउलान सबैका लागि? नियम पालना गर्न र गराउन निर्मम नभए, सभ्य समाज कसरी निर्माण होला भन्ने सोच्दै यो आलेख तयार भएको हो। हिजोआज मात्रै होइन हरेक दिन हाम्रो वरपर घट्ने तर सामान्य हो झै लाग्ने चार घटना समेट्ने प्रयास गरेको छु। यी चार घटनासँग शब्दमार्फत साक्षात्कार गराउने जमर्को गरे है त।


घटना:-१ 
बुधवार धनगढी-३ को बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको वार्षिकोत्सव थियो। समाचारका लागि विद्यालयमा जानुपर्ने थियो। निर्धारित समयमा विद्यालयमा पुगेको थिएँ। कार्यक्रम सुरू नभएको बाहिरबाट नै थाहा पाएँ। मैले सडकमा बाइक रोकेर विद्यालयका प्रधानाध्यापकसँग कार्यक्रम कहिले सुरू हुन्छ भनेर सोध्न चाहेँ। बाइक रोक्न विद्यालयतर्फको सडक किनारमा ठाउँ थिएन। मैले अर्कोतर्फको किनारमा रोक्ने निधो गरे। त्यहाँ लहरै मोटरसाइकल पार्किङ गरिएका थिए।

विद्यालयको ठिक विपरीततर्फ ग्रीलको काम गर्ने पसल अगाडि मैले मोटरसाइकल रोक्न खोजे। निर्माणाधीन सडक भएकाले खाल्डाखुल्डी थिए। मैले ग्रील बनाउने पसलको छेउमा मोटरसाइकल रोक्न खोज्दा खाल्डो हुँदा अड्याउन नसकिने भयो। अनि बल्लतल्ल मोटरसाइकल थामेर अलि यता पार्किङ गरेँ।

मैले खुट्टा कमाएर बाइक थामेको पसलको साहु सडकको नालीमा उभिएर हेरिरहेको थियो। उसले मलाई सहयोग गर्न हत्तपत्त तल झर्नु त कता हो कता मोटरसाइकल मैले रोकेको ठाउँमा नरोक्न भन्यो। बाइक ढलेको भए मेरो खुट्टा भाँचिने थियो सायद। तर मैले जसोतसो बल गरेर बाइक ढल्न दिएन।
बाइक नरोक्न भनेपछि मैले प्रतिउत्तरमा भने "तपाईको यो सामान (फलामको गेट) किन सडकमा राखेको? यसलाई हटाउनु बरु। यसरी पसको सामान सडकमा राख्न मिल्दैन।" मेरो यो कुरा सुनेर उसले मेरो पसल अगाडि म सामान राख्छु तिमी के गर्छौँ गर भनेर उल्टा मलाई नै थर्काउन थाल्यो।


मैले त्यो भन्दा बढी नबोलेर लुसुक्क परेर अफिस फर्केको पनि हुने थियो। तर त्यसो गर्न मेरो मनले मानेनन्। मैले भने, "पसल दर्ता गर्दा सामान कसरी राख्ने पसको क्षेत्रभन्दा बाहिर सामान सडकमा अरुलाई अफ्ट्यारो हुने गरि नराख्ने भन्ने त वडाले, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालयले भनेको हुनुपर्ने। के तिम्रो पसल दर्ता छ?

'दर्ता छैन; तिमी के गर्छौँ ?' उसले रिसाउदै भन्यो। 'दर्ता नगरि त व्यवसाय चलाउन मिल्दैन। अनि दर्ता नगरेर गैरकानुनी तरिकाले व्यवसाय पनि गर्ने सडकमा पनि सडक प्रयोग गर्न समस्या गर्ने अधिकार तिमीलाई कसले दियो,'  मैले भने।

यसोभन्दा साहु निकै रिसाए मलाई कुट्ला जस्तो गर्न थाल्यो। छेउमा हामी बिच भनाभन हुँदा केही सर्वसाधारण र तीन जना प्रहरी पनि थिए। उनीहरूले दुबैको कुरा सुनेका थिए। तर कोही केही बोलेनन्। प्रहरी त्यहाँबाट एकैछिनमा कहाँ गए त्यो थाहा भएन। सार्वजनिक सरोकारको विषयमा मैले पसलवालासँग कुरा गर्दा कसैले मतलव गर्न आवश्यक ठानेनन्। म त काम विषेशले त्यहाँ गएको थिए। रमिता हेर्नेहरूले त्यो सडक रातदिन प्रयोग गर्नुपर्छ।

एक जना मलाई चिन्ने मान्छे नआएको भए बाटोमा पसलको सामान राख्न मिल्दैन भनेको कारण मैले कुटाइ खाएर फर्किनु पर्थ्यो सायद। प्रश्न गर्दा कुटिन सक्ने अवस्था आउनुले लोकतन्त्रको स्वास्थ्यमा अझै गम्भीर समस्या छ भन्ने देखाउँछ।

घटना:-२

सहिद गेटदेखि उत्तर सिपी हस्पिटल पछाडिको सडक दिनेश एफएमसम्म जान्छ। यो सडकलाई अलि व्यस्त सडक नै भन्नुपर्छ। पैदलयात्री, साइकल, मोटरसाइकल, रिक्सा देखि ट्याक्टर, बस र ट्रक पनि यो सडकमा गुडिरहन्छ्न्।

सहिद गेट नजिकै सडकको मुखमै धनगढी टायर रिसोल भनेर टायर फेर्ने पसल अर्थात ग्यारेज छ। सडक लगभग २० फिट हुनुपर्छ। यो ग्यारेजले साना तथा ठुला चारपाङ्ग्रे गाडी सडकमै उभ्याएर टायर फेर्ने काम गर्छ।

साँघुरो सडकमा ठुला गाडीहरू दिनभर रोकेर मर्मतको काम गर्दा सडकमा ओहोरदोहोर गर्न समस्या हुने गर्छ। कहिले कहिलेकाही त चार पाँच गाडी लहरै रोकिएका हुन्छन्।

सडकमा किन गाडी मर्मत गर्नु हुन्छ भनेर मैले धेरैले दिन गुनासो गरेको छु। काम गर्नेहरू कुरा नसुने जस्तो गर्ने। एक दिन बाइक रोकेरै सोधे, "किन अरूलाई अफ्ठ्यारो पारेर सडकमा ग्यारेजको काम गर्नुहुन्छ?" त्यहाँ रहेका मध्ये एक जना बोले, 'हामीलाई मालिकले यस्तै गर्नु भन्नुभएको छ।' मैले को हुन् तम्रा मालिक भनेर सोधेँ। उनले एउटा होटेल देखाएर भने, 'त्यो होटलका मालिक हुन्। त्यहीँ गएर गुनासो गर्नु।'

यसरी सडकमा गाडी रोकेर काम गर्न हुन्न भनेर म आफ्नो बाटो लागे। होटेलमा गएर गुनासो गर्ने जाँगर चलेन। त्यो दिनदेखि मैले गुनासो नगर्ने निधो गरे। सहिद गेटनेर ग्यारेजले सडकमै गाडी मर्मत गर्दा दुर्घटनाको जोखिमबाट धेरै दिन जोगिएको छु। यस्तो समस्या अरूलाई पनि भएको हुनुपर्छ। नियमन गरिदिनु भनेर ट्राफिक प्रहरी प्रमुख वीरेन्द्रसिंह जोहारीलाई पनि भनेको थिए। तर, आजको मितिसम्म त्यो ग्यारेजले सडकमै गाडी रोक्न लगाएर मर्मत गर्ने गरेको छ।

यो सडकमा सदावहार रातदिन ट्रक र टिपर पार्किङ गरिएका हुन्छन् भने शिवपुरी जाने सडकमा पनि लस्करै गाडी पार्किङ गरिएका हुन्छन्। साँघुरो सडकमा हुने गाडी पार्किङले दुर्घटनाको जोखिम बढाएको छ।

घटना:-३

बुधवारदेखि धनगढी ६ लेन सडकमा स्मार्ट सडक बत्ती झिलिमिली भएको छ। रातिमा पनि ६ लेनमा दिउँसो झै चकमन्न अनुभव हुने उज्यालो भएको छ। उपमहानगरले ६ लेन सडकको मेडियनमा बिरुवा लगाएको छ।

चटकपुर-बोराडाँडी खण्डको मेडियनमा उपमहानगर रोपेका एक दर्जन बिरुवा चोरी भए। हरियाली सडक बनाउने योजनामा नगरवासीले मद्दत गर्नुपर्नेमा चोर्ने काम भयो। बुधवार झिलिमिली भयो। यो कामको चारैतिर तारिफ भयो। सबै नगरवासी मात्रै होइन। यो खबर थाहा पाउने हरेक नेपाली खुसी भए होलान्। तर बिहीवार दिउँसो ६ लेन सडकमै टीठलाग्दो दृश्य देखापर्यो।

मेडियनमा बिरुवा जोगाउन र जथाभावी सडक काट्ने प्रवृत्ति निरुत्साहित गर्न लगाइएको जाली पार गर्न लागेका बाँदर प्रवृत्तिका मान्छेहरूको भिडियो पत्रकार भाइ तेज बोहराको फेसबुकबाट सार्वजनिक भयो। यो भिडियोमा जे कैद भएको थियो त्यसले सिङ्गो सुदूरपश्चिमलाई गिज्याउने काम गर्यो। यस्तो हर्कतको सार्वजनिक रुपमा सर्वत्र आलोचना भइरहेको छ।

घटना:-४
शुक्रवार अफिसबाट घर फर्किदा ६ लेन सडक भएर जाने मन लाग्यो। चटकपुर, पाठक हार्डवेयरभन्दा अलि माथि पैदल र ह्वील चेयर प्रयोग गर्नेहरूका लागि बनाइएको बाटोबाट सरकारी मोटरसाइकल क्रस भइरहेको देखेँ। मैले आफ्नो मोटरसाइकल सडक छेउमा रोक्दासम्म त्यो सरकारी बाइकले मेडियन पार गरि सकेको थियो। आधा मिनेट नहुँदै अर्को बाइक, त्यसपछि अर्को, त्यसपछि अटो रिक्सा, त्यसपछि बाइक, साइकल, सामान बोक्ने रिक्सा कति हुन् कतिले त्यहीँनेर सडक पार गर्न थाले। जबकि मेडियनमा गाडिएको बोर्डमा 'पैदल यात्री' भन्ने सन्देश लेखिएको छ।

पैदल र ह्वीलचेयर प्रयोगकर्ताका लागि बनाइएको बाटोमा मोटरसाइकल, स्कुटर, साइकल र रिक्सा निर्वाध चलेको फोटो र भिडियो खिच्न थालेँ। केवल पाँच मिनेटमा २२ वटा फोटो खिच्न सके। तीन वटा भिडियो बनाए। केहीको फोटो र भिडियो बनाउन सकिएन।

सरकारी नम्बरको बाइकको सुप्रप......१७६६ मात्रै प्रष्ट  देख्न सकियो। बिचको अक्षर र अङ्क पढ्न नसकिने गरि फोटो खिचिएछ। जाली पार गर्नेको हिजोदेखि सर्वत्र आलोचना भइरहेको छ। मेडियनमा पैदल यात्री" भन्ने बोर्ड राखिएको छ। त्यसको खुल्लमखुल्ला अवज्ञा हुँदो रहेछ। नाइ भनेको कुराको परबाह नगरी सबैले सडक पार गरेको साँक्षी पाँच मिनट बसेर घर आएर यो लेख लेख्न थाले।

उपमहानगर र ट्राफिक प्रहरीलाई भन्नु छ!

एक आम नागरिकको नाताले नगरपालिका र ट्राफिक प्रहरीलाई केही भन्ने अनुमति चाहान्छु। धनगढी उपमहानगरपालिकासँग नगर प्रहरी छ। यो नगर प्रहरीलाई ६ लेन सडकमा ट्राफिक नियम पालना गराउन र सडक प्रयोगको अनुशासन सिकाउन खटाउन सकिन्न?। नगरप्रमुख गोपाल हमालको ध्यानाकर्षण यो विषयमा होस् भन्ने जोडदार माग राख्दछु।

ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनको जिम्मेवारी छ। बिहीवार मान्छेहरूले जाली पार गर्दा त्यो ठाउँमा भएका ट्राफिक प्रहरीले किन मान्छेहरूलाई यसो नगर भनेर चेतावनी दिएनन्? किन जाली पार गर्दा ट्राफिक प्रहरी मुकदर्शक बन्यो? लाइसेन्स र ब्लुबुक खानतलासी गर्न र जरिवाना असुल गर्नु मात्रै हो ट्राफिक प्रहरी काम?

किन ६ लेन सडकमा ट्राफिक प्रहरी तैनाथ हुँदैन? सडक अनुशासन सिकाउन ट्राफिक प्रहरी ६ लेन सडक केन्द्रित कहिलेबाट हुन्छ? के व्यस्त सडकमा हुने ट्राफिक नियम उल्लंघनका घटना जरिवाना योग्य नहुने नियम  लागू भएको हो? ट्राफिक प्रहरीको ध्यानाकर्षण यी र यस्तै कुरामा होस् भन्ने आम जनताको अपेक्षा छ। यो अपेक्षा पूरा गर्न ट्राफिक प्रहरीले सकोस्।

हामी कहिले आत्मसमिक्षा गर्छौँ त?

नेताले देश बिगारे भनेर नभन्ने नेता बाहेक सबै छन् होला। केही नेताहरूले पनि नेताले देश बिगारे भन्ने गरेका छन्। देश बिगार्नमा नेता होइन  हामी जनता बढी जिम्मेवार छौँ। देश बर्बाद हुने र सुध्रिने भनेको सानासाना कुराले हो। हामी सडक प्रयोग गर्दा इमानदार छैनौँ।

सडक प्रयोग गर्दा हाम्रो लापरबाहीले दुर्घटना भयो त्यसको दोषी त हामी आफैं हौँ  होइन र? सडकमा अनुशासीत नहुने, टोल, छिमेक र समाजमा अनुशासनको पालना नगर्ने, सडकमा घरको फोहर ल्याएर फ्याक्ने, सडक बत्ती रातदिन बल्न दिने, सुर्ती गुट्खा खाएर जथाभावी थुक्नेहरूले समेत देश नेताले बिगार्योर भनेर  नेतालाई गाली गलौज गरेका हुन्छन्।

आजभोलि कसले के गर्छ? के सोच्छ? के खान्छ? कहाँ जान्छ? कस्तो विचार राख्छ? कसको संगत गर्छ भनेर थाहा दिने फेसबुक, टिकटक, टुइटर जस्ता सामाजिक संजाल छदैछ्न्। हामी अर्कालाई दोषी देखाएर आफू उम्कने गर्छौँ।

हिजो जथाभावी जाली पार गर्नेहरूलाई गाली गर्नेहरू सायद  आज जथाभावी पैदल यात्रीका लागि बनाएको बाटोमा मोटरसाइकल, स्कुटर, रिक्सा र साइकल गुडाउदै पो थिए कि? आज पनि ६ लेनमा बिना संकोच गलत ठाउँबाट धेरैले सवारी साधन गुडाइरहेका थिए। नियमको, बोर्डमा लेखेको कुराको हेक्का कसैले राखेका थिएनन्।

जस्तो नाङ्गो दृश्य सडकमा देखिन्छ त्यस्तै नाङ्गा हरकत कोठामा, अफिसमा, घरमा पनि देखीन्थे होला। अफिसको पर्दाले मात्रै नदेखिएको हो भन्ने कल्पना गर्दै घर आएँ। सरकारी अफिसमा काम परेका मान्छेले यस्तै नङ्गा हरकतको हर्जना तिरेर काम फत्ते गरेका कति कति अनुभव सङ्गालेका छन् होला।

अर्काको गल्ती देख्ने हामी आफ्नो गल्ती कहिले देख्छौँ होला? अरुलाई जिम्मेवार हुन सिकाउने हामी आफैं कहिले जिम्मेवार हुन्छौँ होला?

देश सिङ्गापुर जस्तो होस् भनि ठान्ने हामीहरूमा उच्चकोटीको चेतना र व्यवहार कहिले विकास होला? हामी गलतलाई गलत र सहीलाई सही तथ्य र प्रमाण हेरेर भन्न सक्ने कहिले बन्छौँ होला? सर्वजन हिताय काम गर्ने, सर्वजन हिताय चिन्तन गर्ने कहिले बन्छौँ होला? हामी मुख्य जिम्मेवार आफैं भएर अरुका लागि मार्गदर्शक कहिले बन्न सक्छौँ होला?
खै! अहिलेसम्म ठिकसँग बाटो काट्न नजान्ने हामीहरू, ठिकसँग प्रश्न गर्न नजान्ने हामीहरू, कहिले जान्ने बुझ्ने सभ्य नागरिक बन्छौँ होला? सबैको जय होस्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस