चार स्थानीय तहमा काम गरेको कम्पनीले झण्डै १४ करोड भुक्तानी पाएन
धनगढीः क्षेत्रीय सहरी विकास अन्तर्गत कैलाली र कञ्चनपुरमा सडक निर्माणको काम पुरा भइसक्दा पनि निर्माण कम्पनीलाई भुक्तानी पाउन समस्या भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा सडक निर्माण गरेको कम्पनीले १३ करोड ४३ भुक्तानी पाउन सकेको छैन। नेपाल सरकारले चालु आर्थिक वर्षका लागि ५० लाखका दरले मात्र बजेट विनियोजन गरेपछि निर्माण कम्पनीलाई काम गरेको भुक्तानी दिन समस्या भएको हो।
चालु आर्थिक वर्षका लागि २ करोड मात्र बजेट विनियोजन गरिएका बेला निर्माण कम्पनीले भने भुक्तानीका लागि १३ करोड ४३ लाखको बिल पेस गरेको छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले १३ करोड ४३ लाखको बिल पेस गरेको बताए। तर, भुक्तानीका लागि आयोजना कार्यालयसँग बजेट अभाव रहेको उनले बताए। उनले भने, ‘हाम्रो काम सकियो, ९७ प्रतिशत काम पूरा भएको छ।
असारबाट भुक्तानी भएको छैन। नेपाल सरकारसँग पैसा रहेन छ। १३ करोड ४३ लाखको बिल पेस गरेका छौ। सहरीमा बिल बसेको छ। ५० लाख मात्र रहेछ। ५० लाख लिदैनौ भनेका छौ।’ क्षेत्रीय सहरी विकास अन्तर्गत कैलाली र कञ्चनपुरका चार स्थानीय तहमा सडक निर्माण गरेको कालिका कन्स्ट्रक्सले भुक्तानी पाउन नसकेको हो।
क्षेत्रीय सहरी विकासमार्फत कैलालीको धनगढीमा १०, गोदावरीमा १६ र कञ्चनपुरको शुक्लाफाँटामा ८ तथा भीमदत्तमा १४ किलोमिटर सडक कलोपत्र गरेको सो कम्पनीले भुक्तानी भने समयमा पाउन सकेको छैन्। सडक निर्माणको काम अन्तिमचरणमा पुगेका बेला निर्माण कम्पनीलाई भुक्तानी पाउन समस्या भएको हो। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएका सडकको भुक्तानीका लागि बजेट अभाव भएको हो।
सडक निर्माण गरेको कालिका कन्स्ट्रक्सनले १३ करोड ४३ लाखको बिल पेस गरेका बेला क्षेत्रीय सहरी विकास आयोजनासँग २ करोड मात्र बजेट रहेको छ। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकालाई ५० लाखका दरले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ। क्षेत्रीय सहरी विकास आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले गत वर्ष बजेट फिर्ता गएको बताए।
उनले भने, ‘चार वटैको भुक्तानी बाँकी छ। पोरसाल पूरा पैसा थियो। उहाँहरुले काम गर्नु भएन। बजेट फिर्ता गयो। यो पटक बजेट छैन।’ एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलको टुंगो लगाउन समय लागेपछि सडक निर्माणको काम पनि ढिलो भएको हो। विद्युत्का पोल, सडक बत्ती, खानेपानीका पाइप लगायतको विवादमा समेत समय लागेकाले सडक निर्माणको काममा ढिलाइ भएको हो।
चारवटै स्थानीय तहमा सडक निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले सडक रङ्रोगन तथा मर्मतको काम अझै गर्न बाँकी छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि खरेलले काम पूरा भएको बताए। उनले भने,‘ बजेट ल्याउनुपर्ने छ। बजेट आएको छैन। काम डिएलपीमा गएको छ। रकम भुक्तानीका लागि समय थप गर्नुपर्ने पनि हुन सक्छ।’
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्र गरिएको छ।