धनगढीमा क्षेत्रीय सहरीमार्फत निर्माणाधिन सडकको काम जेठमा सकिने
धनगढीः कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सन २०२० जुलाई १२ तारिकमा सम्झौता भयो। सम्झौताको समय अवधि जेठसम्मका लागि थप गरिएको छ।
क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सात वटा सडकको भौतिक प्रगति ७० प्रतिशत मात्र छ। चार महिनाको अवधिमा सडक निमार्णको सबै काम सक्ने दाबी निर्माण कम्पनीको छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले जेठ भित्र धनगढीका सडक निर्माणको काम सक्ने बताए। उनले भने, ‘धनगढीको मुख्य सडकको काम पनि सुरु भएको छ। जेठसम्म समय छ। जेठ भित्र सबै काम सकेर हामी फर्किन्छाैँ। जेठसम्म मज्जाले काम सक्छाैँ।’
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।
धनगढीको चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको काम सुरु भएपनि विद्युतका पोल स्थान्तरणको भने अझै टुङ्गो लागेको छैन्। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले विद्युत लाइन विस्तारको टुङ्गो नलागेको बताए। उनले भने, ‘धनगढीबाट फाइल आएको छैन्।’
धनगढी चौराहदेखि क्याम्पस रोडसम्मको मुख्य सडकको चौडाई ३० मिटर कायम गरिएकोमा घटाएर २४ मिटर कायम गरेर सम्झौता भएको छ। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडक निर्माणको काम चार महिनामा सक्ने दाबी गरिएको हो। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले भुक्तानीका लागि समस्या नहुने बताएका छन्। क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयन गरिरहेका सडकको चौडाई घटाएर सम्झौता भएको थियो। आयोजना अन्तरगत सुरुमा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने भनिएको थियो। पछि लम्बाई घटाएर १० दशमलव १८ किलोमिटर मात्र कालोपत्रे गरिने गरि सम्झौता भएको हो। शाखा सडक भने २४ मिटर भन्दा पनि कम चौडाईका हुनेछन्। धनगढीमा क्षेत्रीय सहरी विकासमार्फत निर्माण थालिएका सडकको ७० प्रतिशत काम पूरा भएको छ।
धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रका सात सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्रको काम जारी छ। क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा १० दशमलव २५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको थियो। एशियाली विकास बैँकको सहुलियत ऋण सहयोगमा झण्डै ७८ करोडमा सात सडकको निर्माण अवधि जेठसम्म छ। निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनले जेठसम्म सबै सडकको निर्माणको काम पूरा हुने दाबी गरेको हो। धनगढीको मुख्य सडकमा पर्ने विद्युतका पोल स्तान्तरणको भने अझै टुंगो लागेको छैन।