महाकाली प्रादेशिक अस्पतालको गुणस्तरमा सुधार
कञ्चनपुरः महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ। अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो।
स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ। स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए–नभएको हरेक ६÷६ महिनामा अनुगमन गर्ने गरेको छ।
विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो। हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पु¥याएको छ। त्यसै गरी २०२० मा अस्पतालले सेवा सुधार गर्दै ६३ प्रतिशत पु¥याएको थियो। सन् २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो।
गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पु¥याएको छ। विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भए–नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले बताए। अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र ६ जना डेन्टलले सेवा दिँदै आएका छन्।