सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको स्कटल्याण्डमाथि कीर्तिमानी जित

२०७९ फाल्गुन ९, ०५:०० खबर संवाददाता

काठमाडौंः घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ।

टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो। नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले। उनले ७ चौका र ४ छक्का प्रहार गरे।

उनले नेपालका लागि सातौं अर्धशतक प्रहार गरेका हुन् । रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २२ तथा यूएई ,नामिबियाविरुद्ध ११ अर्धशतक बनाएका थिए। करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए। ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए। आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाए। दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए। नेपालको जितमा रोहित पौडेल र करण केसीले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे। यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो। सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए। करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १÷१ विकेट लिए।

यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन्। यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन्। यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए।

मंगलबार स्कटल्याण्डलाई पराजित गरेको नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ। यस्तै विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बनेको छ।

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ।

कमेन्ट लोड गर्नुस