प्रहरी अधिकृत बन्ने सपना अधुरै, फूलखेतीले चिनायो सीतारामलाई
धनगढीः कुनै समय प्रहरी अधिकृत बन्ने सपना थियो। तर परिस्थितिले उनको बाटो मोडिदियो। प्रहरी अधिकृत बन्ने सपना पूरा नभए पनि उनले जीवनमा हार मानेनन्। फोटोग्राफी, भिडियोग्राफी र चलचित्र निर्माण हुँदै कृषिमा भविष्य खोजेका टीकापुर नगरपालिका वडा नं:१ बनगाउका सीताराम चौधरी अहिले फूलखेतीबाट आफ्नै पहिचान बनाइरहेका छन्।
चौधरी पछिल्लो एक दशकदेखि फूलखेतीमा सक्रिय छन्। करिब १५ कट्ठा जमिनमा सयपत्री र मखमली फूल उत्पादन गर्दै आएका उनले आफ्नै माटोमा सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। ०५२ सालमा नेपाली विषयमा स्नातक गरेका चौधरी आर्थिक अवस्थाका कारण स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिन सकेनन्। प्रहरी अधिकृत बन्ने सपना पनि पूरा हुन सकेन। त्यसपछि उनले फोटोग्राफी तथा भिडियोग्राफीलाई व्यावसायिक यात्राको सुरुवाती आधार बनाए।
त्यसक्रममा चलचित्र निर्माणमा समेत जोडिएका उनी थारू भाषाको चलचित्र ‘कुहिरा’का निर्मातासमेत हुन्। फोटोग्राफी, भिडियोग्राफी र चलचित्र निर्माणको अनुभव सँगालेका चौधरीले शैक्षिक क्षेत्रमा पनि योगदान पुर्याए। राष्ट्रिय माध्यमिक विद्यालय, टीकापुर–५ मनिकापुर अध्यक्षका रूपमा उनले जिम्मेवारी समेत सम्हालेका थिए।
तर, उनको व्यावसायिक यात्राले अन्ततः कृषिको बाटो समात्यो। पछिल्लो करिब एक दशकदेखि पुष्प व्यवसायलाई मुख्य पेसा बनाएका उनी अहिले तिहारलाई लक्षित गरेर सयपत्री र मखमली फूल उत्पादन गर्दै आएका छन्।
फूलखेती बाहिरबाट हेर्दा आकर्षक देखिए पनि उत्पादन र व्यवस्थापनमा उत्तिकै मेहनत गर्नुपर्ने उनको अनुभव छ। बिरुवा रोप्नेदेखि गोडमेल, स्याहारसुसार, रोगकिरा नियन्त्रण र फूल उत्पादनसम्म निरन्तर खटिनुपर्ने उनी बताउँछन्। आफ्नै अध्ययन, अनुसन्धान र अनुभवका आधारमा व्यवसाय अघि बढाइरहेका चौधरीका अनुसार पुष्प व्यवसायमा सफल हुन धैर्य, लगनशीलता र कामप्रतिको समर्पण आवश्यक छ।
अहिले उनी उत्पादित फूल प्रतिमाला एक सय रुपैयाँ र प्रतिकिलो पाँच सय रुपैयाँका दरले बिक्री गरिरहेका छन्। उत्पादनमा मेहनत गर्नुपर्ने भए पनि बजार व्यवस्थापनमा भने खासै समस्या नरहेको उनको भनाइ छ।
चौधरी फूलखेतीलाई आम्दानीको माध्यममा मात्र सीमित राख्न चाहँदैनन्। यसलाई स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बन्ने अवसरका रूपमा लिन्छन्। नेपालमै सम्भावना हुँदाहुँदै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न युवाहरूले आफ्नै ठाउँमा उपलब्ध स्रोतसाधन र अवसरको सदुपयोग गर्नुपर्ने उनको सुझाव छ।
मेहनत, लगनशीलता र धैर्यका साथ काम गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन्। कृषि तथा पुष्प व्यवसायलाई सम्मानित पेसाका रूपमा अपनाउन युवाहरूलाई आग्रह गर्ने चौधरी फूलखेती गर्न इच्छुक किसान तथा युवालाई आफूले जानेका सीप र अनुभव बाँड्नसमेत तयार छन्।
प्रहरी अधिकृत बन्ने सपना देखेका सीतारामको यात्रा अहिले फूलसँग जोडिएको छ। फोटोग्राफीदेखि चलचित्र निर्माण, शैक्षिक नेतृत्व हुँदै पुष्प व्यवसायसम्म आइपुगेका उनले परिस्थितिअनुसार बाटो बदल्नुपरे पनि लक्ष्य र मेहनत नछोड्ने हो भने सफलताको नयाँ ढोका खोल्न सकिन्छ भन्ने सन्देश दिएका छन्।
सुदूरपश्चिममा पुष्प व्यवसायको विकास र विस्तारमा योगदान पुर्याइरहेका चौधरीको यात्रा आफ्नै माटोमा सम्भावना खोज्ने र विदेशिनुभन्दा स्वदेशमै केही गर्ने सपना देख्ने युवाका लागि प्रेरणाको स्रोत बनेको छ।