बर्सातमा धनगढी सधै अन्धकार, यस्ता छन् मुख्य कारण
धनगढीः धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ सबैभन्दा बढी डुवान हुने क्षेत्र हो। सोही वडाको मित्रनगरमा नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र छ।
नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र प्रत्येक वर्षको बर्षातमा डुवान हुँदै आएको छ। वितरण केन्द्रका उपकरण बर्षातको पानीले डुवाएपछि धनगढी अन्धकार हुने गरेको नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए। उनले भने, ‘धनगढी वितरण केन्द्र डुबान हुँदै आएको छ।
प्रत्येक वर्षको बर्षातको समयमा डुबान हुन्छ। पानीले डुबान भएको समयमा धनगढी अन्धकार हुन्छ।’ धनगढी वितरण केन्द्र प्रत्येक वर्ष डुवानमा पर्ने भएकाले नेपाल विद्युत प्राधिकरण हैरान छ। वितरण केन्द्रका उपकरणहरु वर्षातको पानीका कारण बिग्रिने गरेका छन्। ट्रान्समिटर लगायतका उपकरणमा पानी जाँदा लामो समयसम्म धनगढीमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ।
धनगढीको विद्युत वर्षातमा अवरुद्ध हुने गरेको भएपनि डुबान समस्या समाधानको काम भने भएको छैन। प्रदेश सरकार र धनगढी उप–महानगरपालिकासँग पटक–पटक डुबानको समस्या समाधानका लागि प्राधिकरणले आग्रह गर्दै आएको छ। धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, सुदूपश्चिम सरकारका मन्त्रीहरुले उक्त क्षेत्रको अवलोकन गरेका मण्डलले बताए।
उनले भने, ‘धनगढी धनगढी उप–महानगरपालिकाका मेयर पास, पूर्व भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी लगायतले स्थलगत अनुगमन गरेका छन्। हामीले उप–महानगरपालिकालाई औपचारिक पत्रसमेत पठाएका छौ।’ मोहनापुल–अत्तरिया ६ लेन सडकले बर्षातको पानीको निकास रोक्दा विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रसमेत जोखिममा छ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ मा रहेको मित्रनगरको डुवान समस्या समाधानको काम थालिएको दाबी गरिएको छ। धनगढी उप–महानगरपालिकाले वडा नम्बर २ र ३ को डुवान समस्या समाधानको काम थालेको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ को डुवान समस्या समाधान भए, विद्युत प्राधिकरणको वितरण केन्द्रको डुबान समस्या समेत समाधान हुने धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले बताए।
उनले नगरप्रमुख गोपाल हमाल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा लगायत वडा अध्यक्षहरुले डुबान समस्या समाधानका लागि काम सुरु गरेको बताए। प्रदेश सरकार र धनगढी उप–महानगरपालिकाले धनगढीको डुवान समस्या समाधानका लागि काम थालेको उनले बताए। धनगढीको सबैभन्दा डुवान हुने मित्रनगरमा रहेको प्राधिकरणको वितरण केन्द्रमा नै १३२ केभीको नयाँ सब स्टेसन निर्माणको काम थालिएको छ। धनगढीको विद्युत समस्या समाधानका प्राधिकरणले नयाँ स्टेसन निर्माणको प्रक्रिया सुरु गरेको छ।