आईसीसी विश्वकप क्रिकेट लिग २ को जित नजिक नेपाल
काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशल मल्लले इनिङको तेस्रो अर्धशतक बनाएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भ्रमणकारी नामिबियाले ६ विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा ब्याटिङ थालेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका कुशलले ४१ बलमा चार चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन्। कुशलले कप्तान रोहित पौडेलसँग ८० रनको साझेदारी गर्दै शनिबारको तेस्रो अर्धशतक बनाएका हुन्।
यसअघि शुक्रबार भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि कुशलले अर्धशतकीय इनिङ खेलेका थिए। ओपनर आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक बनाइसकेका छन्। कुशलसँगै क्रिजमा रहेका कप्तान रोहित ३४ बलमा ३२ रन बनाएका छन्। नेपाललाई जितका लागि ५० बलमा २६ रनको आवश्यकता छ। नामिबियाका रुबेन ट्रम्पेल्म्यान, टाङ्गेनी लुङ्गामेनी र बर्नार्ड स्कोल्जले एक–एक विकेट लिएका छन्।
शृंखलाको पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले शुक्रबार लिग २ च्याम्प्यिन स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो।