सुदूरपश्चिममा कस्तो छ अर्नब चक्रवातको प्रभाव ?
धनगढीः बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभाव सुदूर नेपालमा देखिन थालेको छ। यसको असरले मध्य तथा पूर्वी नेपालमा बढी वर्षा हुने सम्भावना रहे पनि सुदूरपश्चिममा तुलनात्मक रूपमा जोखिम कम रहेको जलविज्ञान कार्यालयले जनाएको छ। सुदूरपश्चिमका विभिन्न स्थानमा शुक्रबारदेखि वर्षा भइरहेको छ।
जलविज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहका अनुसार दुई दिन सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा हुन सक्ने अनुमान छ। तर, प्रदेशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना नरहेकाले बाढीको जोखिम कम रहेको उनले बताए।
चक्रवातको प्रभावले सुदूरपश्चिमका पहाडी जिल्लामा समेत वर्षा हुन सक्ने र केही स्थानमा आकस्मिक बहावको जोखिम रहन सक्ने अनुमान गरिएको छ। हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ।
वर्षाको सम्भावनाले धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई भने प्रभावित पार्न सक्ने देखिएको छ। मनसुन सकिएपछि धान भित्र्याउने चटारोमा रहेका किसानलाई मौसमको अवस्थालाई ध्यानमा राखेर काम गर्न कार्यालयले आग्रह गरेको छ।
शाहले दुई दिन धान काट्ने तथा भित्र्याउने काम नगर्न किसानलाई सुझाव दिएका छन्।
यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतका निकायले देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिमसमेत औँल्याएका छन्। पूर्वानुमानअनुसार सोमबारदेखि क्रमशः बादल हट्दै जाने र वर्षाको सम्भावना घट्दै जानेछ।