धनगढीमा विद्युतको १३२ केभी सब–स्टेसन निर्माणको प्रक्रिया सुरु
धनगढीः धनगढीमा विद्युत खपतको मागलाई पूरा गर्न प्राधिकरणले १३२ केभीको सब–स्टेसन निर्माणको प्रक्रिया सुरु गरेको छ।
नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र रहेको क्षेत्रमा १३२ केभीको सब–स्टेसन निर्माणका लागि अध्ययन सुरु गरिएको हो। चार दिनभित्र प्राविधिक अध्ययनको काम पूरा हुने नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए। उनले भने, ‘जग्गा पक्का भएको छ। हाम्रो कार्यालयको परिसरमा सब–स्टेसन निर्माण हुने भएको छ। माथिबाट प्राविधिकको समूह आएको छ। हामीहरु सानो भोल्टेज मात्र हेर्छौँ। यो ठुलो भोल्टेज हो।’
धनगढी वितरण केन्द्रका कर्मचारीको आवास रहेको क्षेत्रमा नयाँ १३२ केभी सब–स्टेसन निर्माण हुने भएको हो। प्राधिकरणको स्वामित्वमा रहेको डेढ विघा जग्गामा नयाँ सब–स्टेसन निर्माण गर्न प्राविधिक अध्ययन थालिएको छ। चार दिनभित्र प्राविधिक अध्ययनको काम सकिनेछ। वितरण केन्द्रका कर्मचारीको आवासीय भवनहरु भत्किने भएका हुन्। मण्डलले भने, ‘कर्मचारीको आवास रहेको क्षेत्रमा नयाँ सब–स्टेसन निमार्ण हुने भएको छ। जग्गा डेढ बिघा हो। कर्मचारीका क्वाटर भत्किने भए। हामीहरु बाहिर बस्छौँ। धनगढीवासीलाई विद्युत दिन्छौँ।’
नेपाल विद्युत प्राधिकरणले अत्तरियाको गोदावरी नदी हुँदै मोहनाको छेउबाट १३२ केभीको प्रसारण लाइन धनगढी ल्याउने छ। प्राविधिकहरुले अध्ययनको काम पूरा गरेर प्राधिकरणको केन्द्रीय कार्यालयबाट स्वीकृत आवश्यक हुन्छ।
प्राधिकरणले प्राविधिक अध्ययनको काम स्वीकृतपछि वातावरणीय प्रभाव मूल्याँकन (इआए)को काम सुरु हुने छ। इआए स्वीकृतपछि मात्र प्राधिकरणले १३२ केभी प्रशासरण लाइन तथा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गर्नेछ। तीन वर्षभित्र सबै काम पूरा गर्ने लक्ष्य छ। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख मण्डलले तीन वर्षमा धनगढीमा १३२ केभीको नयाँ सब–स्टेसन निर्माणको काम पूरा हुने बताए। उनले भने, अत्तरियाबाट प्रसारण लाइन आउँछ। मोहना नदीको छेउबाट १३२ केभीको प्रसारण लाइन आउने छ। धनगढीको मुख्य सडकबाट ल्याउन सकिदैन्। त्यहीँ हिसावले काम हुँदैछ। तीन/चार दिनमा काम पूरा हुन्छ।’
अत्तरिया–धनगढी ३३ केभी प्रसारणको काम जारी छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्व तिरबाट विद्युतका नयाँ पोल तथा तार विस्तारका लागि ठेक्का सम्झौता गरिएको हो। उक्त काम पूरा भएपछि धनगढीमा विद्युतको समस्या हल हुने, तार चुडिने लगायतका समस्या कम हुने दाबी गरिएको छ। धनगढीमा गर्मी मौसममा अधिकतम २५ एमभिए विद्युत आवश्यक हुन्छ। धनगढीमा १३ मिटर उचाईका पोल हालेर ३३ केभीको विद्युत लाइन विस्तारको काम जारी छ। अत्तरिया धनगढी ३३ केभी प्रसारण लाइनको काम पूरा भए पनि धनगढीको विद्युत कटौतिको समस्या समाधान हुने दाबी प्राधिकरणको छ।