मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा काँग्रेस आशावादी, मत नदिने नागरिक उन्मुक्तिको अडान यथावत
धनगढीः तत्कालिन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसक्दा प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस संसदीय दलका नेताको हैसियतमा कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले एक महिना अर्थात फागुन २६ गतेभित्र विश्वासको मत पाइसक्नुपर्ने छ। तर काँग्रेसले राष्ट्रपति चुनाव पूर्व नै मुख्यमन्त्रीले विश्वासको मत हासिल गर्ने गरि राजनीतिक सम्वाद भइरहेको बताएको छ। नेपाली काँग्रेसका प्रदेश महामन्त्री मेघराज खड्काले राष्ट्रपतिको चुनाव अगावै मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा काँग्रेस विश्वस्त रहेको बताएका छन्।
‘हामी विश्वासको मत राष्ट्रपतिको निर्वाचन अगाडि लिइहाल्छौँ,’ उनले भने, ’१५ गतेभित्र नागरिक उन्मुक्ति या माओवादी केन्द्रको सहयोगमा विश्वासको मत हासिल गर्छौँ, कुरा सबैसँग भइरहेको छ।’ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसँग १९ जना आफ्नै पार्टीका प्रदेश सभा सदस्य छन् भने नेकपा एकिकृत समाजवादीका ४ र स्वतन्त्र एक गरि २४ जना प्रदेश सभा सदस्यको समर्थन छ।
विश्वासको मत सिद्ध गर्न केवल तीन मत अपुग छ। तर केन्द्रमा प्रधानमन्त्री र माओवादीले नेतृत्व गरेको प्रदेशमा काँग्रेसले सहयोग गरेकाले नेकपा माओवादीले सुदूरपश्चिम प्रदेशमा काँग्रेसलाई विश्वासको मत दिने नेपाली काँग्रेसका प्रदेश महामन्त्री खड्काले बताए। ‘हामीले प्रचण्ड जीलाई विश्वासको मत दिएका छौँ।
प्रदेशमा पनि माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छौँ,’ उनले भने, ’सुदूरपश्चिममा काँग्रेसलाई माओवादी केन्द्रले सहयोग गर्छ। यो पटक एक महिनामा बहिर्गमन हुने अवस्था आउन्न्। नागरिक उन्मुक्तिसँग पनि सम्वाद चलिरहेको छ।’ काँग्रेसले नेकपा माओवादी र नागरिक उन्मुक्तिले विश्वासको मत दिने विश्वास गरे पनि नेकपा माओवादीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन।
तर, नागरिक उन्मुक्तिले भने काँग्रेस मुख्यमन्त्री शाहलाई पनि विश्वासको मत नदिने अडान कायमै राखेको छ। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले कसैलाई विश्वासको मत नदिने पुरानो अडानमा परिवर्तन नभएको बताए। ‘हामी काँग्रेसलाई पनि विश्वासको मत दिन्नौँ,’ उनले भने, ’हाम्रा माग र मुद्दा पूरा नभएसम्म कसैलाई सहयोग नगर्ने अडान परिवर्तन भएको छैन।’
नेपाली काँग्रेसले संघीय सरकार र माओवादी नेतृत्वका प्रदेश सरकारलाई सहयोग गरेकाले सुदूरपश्चिममा माओवादी केन्द्रको साथ सजिलै पाउने दाबी छ। नागरिक उन्मुक्तिका माग पूरा गर्न काँग्रेस पहिलेदेखि नै सकारात्मक भएकाले नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताएको छ। तर सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने आफ्नो अडान कायमै राखेको छ।