सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई वर्षपछि अन्तर माध्यमिक खेलकुद प्रतियोगिता

२०७९ माघ २८, ०२:३५ खबर संवाददाता

कञ्चनपुरः कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेका अन्तर माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएका छन्।

खेलाडी उत्पादनको जग मानिने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कोरोनाका कारण प्रभावित भएका थिए। कञ्चनपुरका नौवटै पालिकामा १३ औँ राष्ट्रिपति रनिङ सिल्डअन्तर्गत पालिकास्तरीय अन्तर माध्यमिक प्रतियोगिता सञ्चालन भएका छन्। अहिले जिल्लाका नौ पालिकामा भलिबल, एथलेटिक्स, कबडी, तेक्वान्दो, लामो तथा छोटो दौडलगायतका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। 

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले खेलाडीको विकासका लागि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भएराख्नुपर्ने बताए। ‘खेलकुद स्वास्थ्य र अनुशासनका लागि महत्वपूर्ण छ, विश्वमा देशलाई चिनाउन खेलाडी उत्पादन हुने जग भनेकै विद्यालय हो’, उनले भने, ‘खेलकुद प्रतियोगिताले खेलाडीलाई अब्बल बनाउन सहयोग पुग्छ।’

भानु माध्यमिक विद्यालय दोधारा चाँदनीका शिक्षक मोहन बुढा यस्ता प्रतियोगिताले खेलाडीमा निखार ल्याउन सहयोग पुग्ने बताउँछन्। भीमदत्त नगरपालिकाले प्रतियोगितामा सहभागी हुन नसक्ने विद्यालयले सो समयमा नै खेलकुद महोत्सव मनाउन निर्देशन दिएको छ। ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन नसके आआफ्नो विद्यालयमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न भनेका छौँ’, भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले भने, ‘दुई वर्षपछि भएको प्रतियोगिता उत्साहपूर्ण छ।’

तेह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको जिल्लास्तरीय छनोट खेल आगामी फागुन ८ गतेदेखि बेलौरी नगरपालिकामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काले बताए। उनले फागुन २ गतेभित्र पालिकाले सहभागी हुने खेलाडीको नाम पठाइसक्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस