कञ्चनपुरको कृष्णपुरमा चैते धान र बसन्ते मकैको बिउ वितरण
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदानमा किसानलाई चैते धान र बसन्ते मकैको बिउ वितरण गरेको छ। सोमवार नगरपालिका परिसरमा भएको एक कार्यक्रममा नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बिउ हस्तान्तरण गरेकी हुन्। कृषि शाखाले किसानलाई चैते धानको बिउमा ८० प्रतिशत र बसन्ते मकैको बिउमा ५० प्रतिशत अनुदान दिएको हो।
नगरपालिकाको कृषि शाखाले विभिन्न कृषक समूह र किसानलाई चैत धान ५४६ किलो र ४८५ किलो बसन्ते मकैको बिउ वितरण गरेको हो। बिउ हस्तान्तरण पश्चात नगर उपप्रमुख द्रोपती रानाले किसानलाई खाली जग्गाको उपयोग गराउन र व्यस्त राख्न नगरपालिकाले बिउमा अनुदान दिन थालेको बताइन्।
उनले कृष्णपुर कृषि उत्पादनका हिसाबले उर्वर भूमी रहेकोले किसानले थोरैमात्र मिहिनेत गरे धेरै उत्पादन गर्न सक्ने भएकाले अनुदानमा लगेको बिउको सही सदुपयोग गरेर राम्रो उत्पादन गर्न आग्रह गरिन्। कृष्णपुरले आर्थिक वर्ष २०७६/०७७ देखि विभिन्न सिजनमा किसानलाई आवश्यक पर्ने बिउ अनुदानमा उपलब्ध गराउँदै आएको नगरपालिकाका कृषि प्राविधिक गणेश ओझाले बताए।
नगरपालिकाले सुपथ मुल्यमा हरेक वर्ष अनुदानमा बिउ दिन थालेपछि किसानको संख्यामा वृद्धि भइरहेको कृषि प्राविधिक गणेश ओझाले बताए। नगरपालिकाले यसभन्दा अगाडि गहुँको,च्याउ,प्याज र बगर खेती गर्ने किसानलाई तरकारीको बिउमा अनुदान दिएको थियो। अनुदानमा बिउ वितरण कार्यक्रममा वडा न ९ का अध्यक्ष कैलाशबहादुर बलायर सभापति रहेका थिए भने प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती राना रहेकी थिइन्।