प्रधानमन्त्री कप महिला टी–२० मा सुदूरपश्चिम च्याम्पियन
धनगढीः प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो।
प्रदेश–१ ले दिएको एक सय दुई रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा लक्ष्य भेट्टाएको थियो। सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन बनाइन्। डोली भट्टले २२, कविता जोशी १९ र कविता कुँवरले १२ रन बनाए। बलिङमा प्रदेश–१ का सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो। प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन बनाए। अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडे।
बलिङमा सुदूरपश्चिमका मनिषा चौधरीले दुई विकेट लिए। ऋतु कोनुजियाले एक विकेट लिए। उपाधिसँगै सुदूरपश्चिम प्रदेशले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता प्रदेश–१ ले तीन लाख प्राप्त गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।