सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवालाई स्वरोजगार बनाउन ऋण प्रवाहलाई सरल बनाइने

। फोटो स्रोत ।
२०७५ चैत्र १३, १०:२७ खबर संवाददाता

युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने सरोकारवालाले बताएका छन्। राष्ट्रिय युवा परिषद्ले मंगलबार भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने बताएका हुन्। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताए। ‘सरकारको बेरोजगार युवालाई स्वरोजगार बनाउने अभियानलाई सफल पार्नका लागि हामी प्रतिबद्ध रहेका छौँ’, उनले, ‘युवा उद्यमीले प्रक्रिया पूरा गरेर कर्जा माग गरे हामी सरल तरिकाले कर्जा प्रवाह गर्दछौँ।’
बाणिज्य बैंकले २१७ शाखाबाट सरकारले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्य्विधि–२०७५’ अनुसार युवा उद्यमीलाई कर्जा प्रवाह गरिरहेको उनले जानकारी गराए। उनले धेरैजसो युवाले परियोजना प्रस्ताव ल्याउदा आफ्नो सीपभन्दा बाहिरको ल्याउने भएकाले त्यस्तालाई ऋण प्रवाह गर्न नसकिएको बताए। उनले युवालाई आफ्नो सीप र तालिम भएका परियोजना ल्याउनसमेत आग्रह गरे।
उहाँले सरकारले कर्जा सुरक्षण र परियोजनाको बीमा गरेकोले आफूहरुलाई युवा उद्यमीलाई कर्जा प्रवाह गर्नका लागि समस्या नभएको बताए। गएको कार्तिक २० गते अर्थमन्त्रालयले यो कार्यविधि  अनुसार कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमी कर्जा, दलिय युवा कर्जा, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जालगायत सात प्रकारका कर्जा विना धितो प्रवाह गर्न राष्ट्र बैंकमार्फत ‘क’ बर्गका बैंकलाई पत्राचार गरेको थियो। 
कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोन्यालले राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै आफूहरुले युवालाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गरिरहेको बताए। उनले कृषि क्षेत्र आफ्नो बैंकको प्राथमिकतामा रहेको उल्लेख गदै युवालाई स्वरोजगार बनाउनका लागि आफूहरुले सहज ढङ्गले ऋण प्रवाह गर्ने जानकारी  गराए। कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था (नेस्कफुन) का वरिष्ठ उपाध्यक्ष परितोष न्यौपानेले आफ्नो संस्थाले पहिलेदेखि नै युवालाई उद्यमशिलतासँग जोड्दै ऋण प्रवाह गरिरहेको बताए।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहुलियत दरमा कर्जा प्रवाहले देशभित्रै युवालाई स्वरोजगार बनाइने बताए। उनले सहुलियत दरमा कर्जा प्रवाहबाट पाँच लाख बेरोजगार युवालाई रोजगार बनाइने बताए। उनले युवाको माध्यमबाट नै देशको रुपान्तरण गर्न सकिने भन्दै युवालाई नै स्वदेशमा स्वरोजगार बनाउनका लागि सहुलियत दरमा कर्जा प्रवाहमा सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिए।
विभिन्न सात प्रकारका कर्जामा सरकारले विना धितो राष्ट्रिय बाणिज्य बैंकबाट पुरुषलाई २.६८ प्रतिशत र महिलालाई १.६८ प्रतिशत तथा एनएमबी बैंकले ५ प्रतिशतमा ऋण प्रवाह गरिरहेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए। उनका अनुसार अहिले देशभर अहिले २०० युवाहरुले कर्जा लिएर उद्यम सञ्चालन गरिरहेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस