सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पुनर्वासको जनजागरण सामुदायिक वनमा तस्करी मौलायो 

२०७९ माघ ४, ०९:३२ नारायण अवस्थी

धनगढीः कञ्चनपुरमा पुनर्वासको जनजागरण सामुदायिक वनमा तस्करी बढेको छ। सामुदायिक वन उपभोक्ता समितिको मिलेमतोमा तस्करी मौलाएको हो। नेपाल–भारत सीमा क्षेत्रमा पुनर्वास नगरपालिकाको वडा नम्बर ८ र ९ मा फैलिएको सामुदायिक वनमा हरेक हप्ता रूख कटान हुने गरेको छ। उपभोक्ता समितिका पदाधिकारीसँग साठगाँठ गरेर वन विनास भइरहेको स्थानीयको भनाइ छ।

वनको भित्रि भागमा हरेक दिन तस्कर समूहले सालका रुख काटेर लग्ने गरेका छन्। सामुदायिक वनको दोदा आर्यघाट क्षेत्रबाट आधा दर्जन सालका रूख काटिएको देख्न सकिन्छ भने वनको भित्र पनि दर्जन बढी ठाउँमा सालका रुख काटिएका छन्। काठ तस्करहरूले सिङ्गो सालको रुख जरा कहानेर हो भन्ने थाहा नहुने गरी काटेर लग्ने गरेको स्थानीयको दाबी छ। वन उपभोक्ता समितिसँग मिलेमतो गरेर सामुदायिक वनबाट सालको काठ तस्करी हुने गरेको नाम उल्लेख नगर्न आग्रह गर्दै एक जना स्थानीयले बताए।

यो सामुदायिक वनमा खुलेआम तस्करी हुने गरेको छ, त्यो पनि वनका पदाधिकारीको मिलेमतोमा,’ उनले भने, ’तस्करी भइरहेको हामीसँग प्रमाण छ तर गाउँलेसँग दुस्मनी हुन्छ भनेर बोल्न समस्या हुने गरेको छ।’

सामुदायिक वन नजिकै भारततर्फ दुधुवा नेशनल पार्क रहेको छ। तर, तस्करहरूले भने सामुदायिक वनबाट काठ काटेर ल्याउने, स्थानीयले प्रश्न गरे भारतको जङ्गलबाट ल्याएको बताउने र उम्किने गरेका छन्। स्थानीयले सामुदायिक वनमा पदाधिकारीको मिलेमतोमा काठ तस्करी हुने गरेको बताए पनि उपभोक्ता समितिका निवर्तमान सचिव अमर साउँद भने यो मान्न तयार छैनन्।

'सर्वदलीय सहमतिबाट नयाँ वन उपभोक्ता समिति चयन भएपछि अध्यक्ष हुन्छौँ भन्नेहरूले हल्ला फैलाएका हुन्,’ उनले भने, 'वनमा चुनावको समयमा एक दुई रुख काटिएका थिए, तर वन नै सखाप भयो भन्नेजस्तो हल्ला पिट्ने काम भएको छ।’

सामुदायिक वनमा आर्थिक अनियमितता र फडानी बढेको स्थानीयले बताए पनि वनका पदाधिकारीले वन संरक्षण गरिरहेको दाबी गरेका छन्। सामुदायिक वनमा स्थानीय र प्रदेश तथा संघको निर्वाचनको समयमा केही रुख काटिएका भए पनि अहिले भने रुख नकाटिएको दाबी निवर्तमान समितिका पदाधिकारीहरूले गरेका छन्। यस्तै, वन अधिकारीहरूले पनि सामुदायिक वनका पदाधिकारी र स्थानीयबिच भएको आन्तरिक विवादले समस्या गरेको जनाएका छन्। चुनावको समयमा केही रूख काटिएको र त्यसको अनुसन्धान भइरहेको कुण्डा सव–डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

'त्यहाँ समुदाय र वन उपभोक्ता समितिका बिच विवाद थियो,’ उनले भने, ’त्यहीँ विवादले गर्दा समस्या भएको हो, वनमा चुनावको समयमा केही रुख काटिएका थिए, त्यसको हामीले अनुसन्धान र छानविन गरिरहेका छौँ।’

पुनर्वासको जनजागरण सामुदियक वन ६० लाख लागतमा अधुरो छोडिएको स्विमिङ पुलका कारण चर्चामा आएको थियो। त्यहीँ वनमा खुलेआम हरेक वर्ष सालका रूख छानीछानी काट्ने गरिएको गुनासो गरिएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस