वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय
काठमाडौँः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। आज मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन। उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए।
मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए। स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरूको सहभागिता थियो।
पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरूको विकास गर्न आफूले काम गर्ने बताए। यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उनले व्यक्त गरे।
सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उनको भनाइ छ। यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्वनमा ध्यान दिइने उनले बता्रए। आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरूमा सुझावका लागि पठाइनेछ। प्रदेशहरूबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ।
पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रूपमा जन्म भएको हो। स्नातकसम्म अध्ययन गरेका उनकोे रुचिको क्षेत्र अर्थतन्त्र हो। विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध भएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बनेका थिए।
त्यस्तै, विसं २०५० सालमा तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव हुँदै बैतडीको अध्यक्षसमेत भए। विसं २०७० मा संविधानसभा सदस्यका रूपमा बैतडी १ बाट निर्वाचित हुनुभएका उनले विभिन्न भूमिकामा कार्यसम्पादन गरे। मन्त्री भण्डारी २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थियो भने विसं २०७३ मा अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थियो । उनी राजनीतिक आन्दोलनका क्रममा पटक–¬पटक प्रहरी हिरासतमा गरेका थिए।
मुलुकको अर्थतन्त्र बलियो भएमात्र विकास हुने धारणा राख्नुहुने मन्त्री भण्डारीले संविधान निर्माणमा भूमिका खेलेबापत संविधानसभा पदक प्राप्त गरेका थिए।
रासस