भागेश्वर चिनी मिलको दूषित पानीले माछा मर्दै, स्थानीय सास्ती खेप्दै
धनगढीः पुनर्वासको भागेश्वर चिनी मिलबाट आउने दूषित पानीले पुनर्वास नगरपालिका वडा नम्बर ५ र ७ का स्थानीयले गाउँमा बस्न मुस्किल हुने गरेको गुनासो गरेका छन्। पुनर्वासमा रहेको भागेश्वर चिनी मिलबाट आउने विषाक्त पानीले नगरपालिकाको दुई वडा प्रभावित भएका हुन्।
वडा नम्बर ५ र ७ भएर बग्ने भगर नालामा चिनी मिलबाट आएने दूषित पानी मिसाइएको छ। जसले गर्दा परासन क्षेत्रमा बस्न मुस्किल भएको स्थानीयले गुनासो गरेका छन्। दिनमा हावा चल्ने हुँदा बस्तीमा कम दुर्गन्ध आउने तर गर्मी र रातिको समयमा भने बस्तीमा नाक फुट्ने गरी दुर्गन्ध आउने गरेको परासनका स्थानीय विजय विश्वकर्माले गुनासो गरे।
'चिनी मिलको पानीले गाउँ भएर बग्ने भगर नाला हुँदै बग्ने गरेको छ,’ उनले भने, ’यो दूषित पानीले हाम्रो वेहाल बनाएको छ। राति घर भित्र बस्न सकिन्न। हावा गाउँतर्फ चल्यो भने रातभरी निदाउनै सकिन्न।’
चिनी मिलले पानी प्रशोधन नगरेरै छोड्ने गरेको स्थानीयले बताएका छन्। भगर नालामा कालो पानी बगेको देखिन्छ भने भगर नाला र दोदा नदीको दोभानभन्दा तल नदीमा रहेका माछा पनि धमाधम मर्ने गरेको स्थानीयले बताएका छन्। भगर नाला र दोदाको दोभानमा झण्डै २ किलोको माछा भगर नालाको पानीका मरेको अवस्थामा भेटिएको छ। हरेक वर्ष मिल सञ्चालन हुनासाथ बस्तीमा दुर्गन्धले हैरानी खेप्नु परेको वडा नम्बर ७ का वडा अध्यक्ष मुलचन्द रानाले बताए।
'मैले पटकपटक मिलसँग पानी प्रशोधन गरेर मात्रै नालामा मिसाउन अनुरोध गरेको छु तर मिलले मानेको छैन,’ उनले भने, ’मिलको विषाक्त पानीले वडा नम्बर ५ र ७ मा सास्ती खेप्नु परेको छ।
भागेश्वर चिनी मिलबाट आउने फोहर र विषादीयुक्त पानीले भगर नाला र दोदा नदीमा रहेका जलचर प्राणीलाई ठुलो असर गरेको पुनर्वास ८ का स्थानीय विमल रावलले बताए।
'चिनी मिलको पानी प्रशोधन नगरेरै नालामा मिसाउने काम हुँदा भगर नाला र दोदा नदीमा माछा, भ्यागुता, गङ्गटा जस्ता जीव देखिनै छोडेका छन्,’ उनले भने, ’कतिपय अवस्थामा ठुलठुला माछा मरेको देखिन्छन् भने दूषित पानीको कारण लामखुट्टे र दुर्गन्ध भनेको बढेको छ।'
स्थानीयले विषाक्त र दुर्गन्धित पानीले गरेको समस्याबारे नगरपालिकामा पनि पटकपटक गुनासो गरेको तर सुनुवाई नभएको बताएका छन्। तर, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले भागेश्वर चिनी मिलका सञ्चालकसँग पानी प्रशोधन गरेर मात्रै नालामा मिसाउने विषयमा छलफल भएको बताएका छन्। नगरप्रमुख शर्माले मिल सञ्चालकले पानी प्रशोधन गर्ने नगरपालिकासँग सहमति गरेकाले त्यसको अनुगमन गर्ने बताएका छन्।
'स्थानीयले गुनासो गरेपछि हामीले मिल सञ्चालकलाई बोलाएर छलफल गरेका छौँ,’ उनले भने, ’सञ्चालक वोगटी जीले पानी प्रशोधन गरेर मात्रै नालामा मिसाउने सहमति गरेर जानु भएको छ।’
यता, चिनी मिल सञ्चालक शंकर बोगटीले भने चिनी मिलबाट आउने पानीमा कुनै किसिमको विषादी नहुने बताएका छन्। उनले उखुको कारण अलिकति दुर्गन्ध आउने भए पनि माछा मर्ने र अन्य जीवलाई हानी हुने रसायन मिलबाट आउने पानीमा नहुने बताए।
'मिलको पानीले माछा मरेको भन्ने खबर मैले पनि पाए तर मिलबाट आउने पानीमा कुनै रसायन मिसिएको हुँदैन,' उनले भने, 'स्थानीयले नगरपालिकामा पनि गुनासो गरेपछि हामीले प्राविधिक लगाएर पानी परीक्षण गर्ने भएका छौँ।' चिनी मिलबाट आउने पानीमा गन्ध हुने भए पनि हानिकारक रसायन भने नहुने सञ्चालक बोगटीको भनाइ छ।
कानुनअनुसार कुनै पनि प्राकृतिक स्रोतको स्वरुप र गुणस्तर ह्रास हुने किसिमले गतिविध गर्न नपाउने व्यवस्था छ। पानीको कुनै पनि स्रोतमा घरेलु तथा औद्यौगिक फोहर मिसाउन नपाउने कानूनी प्रवधान छ। तर, भागेश्वर चिनी मिलले कानुनको बेवास्ता गर्दै आफूहरूलाई दुःख दिएको गुनासो सर्वसाधारणले गरेका छन्।