सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साढे २६ हजार उद्योग दर्ता, झण्डै ६० करोड राजस्व संकलन

२०७९ माघ १, ०१:०१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र प्रदेश सरकार गठनको पहिलो पाँच वर्षमा २६ हजार ६४५ उद्योग दर्ता भएको देखिएको छ। चार हजार ८ सय ३८ लघु उद्योग, दुई हजार चार सय ८७ घरेलु तथा १९ हजार तीन सय १९ साना उद्योग दर्ता भएको तथ्यांकले देखाएको हो।

उद्योग दर्तासँगै उद्योगका लागि आवश्यक पर्ने उपकरण र तालिमसमेत उपलब्ध गराएको प्रदेशको दाबी छ। प्रदेश सरकारले ४१ वटा नवीन उद्योगलाई २ करोड ३५ लाख ७४ हजार रुपैयाँ अनुदान वितरण गरेको छ। प्रदेशका ४९ स्थानीय तहमा लघु उद्यम स्थापनाका लागि थप चार करोड ९४ लाख ७२ हजार अनुदान वितरण गरिएको प्रदेशको प्रगति विवतरणमा उल्लेख छ। 

सरकार गठनको पहिलो पाँच वर्षको अवधिमा ९१ लाख ५२ हजार ८७९ वटा विरुवाहरु उत्पादन गरेको समेत प्रगति विवरणमा छ। नदी उकास क्षेत्र, खाली तथा नाङ्गो क्षेत्र, सामुदायिक वन, कबुलियती वन तथा निजी जग्गाहरुमा समेत विरुवा उत्पादन गरेर वृक्षारोपण गरिएको उल्लेख छ।

साथै ३७ वटा सामुदायिक वनमा पर्यापर्यटनका कार्यक्रम सञ्चालन, चार सय ७० स्थानमा पहिरो तथा गल्छी नियन्त्रण, एक सय ९३ वटा पानीका मुहानको संरक्षण तथा व्यवस्थापन र एक सय ६ स्थानमा साना सिँचाई कुलो समेत निर्माण भएको प्रदेश सरकारले सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रदेश सरकारले पर्यटन क्षेत्रमा एक सय ६३ धार्मिक पर्यटन पूर्वाधार निर्माण, १७ ऐतिहासिक कोट दरबार संरक्षण, एक सय ४४ पदमार्ग निर्माण, १९ भ्यूटावर, ५४ पार्क, २ पर्यटन सूचना केन्द्र र १६ वटा होमस्टे स्थापना गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पहिलो पाँच वर्षको अवधिमा ५९ करोड ७५ लाख ६८ हजार ८६६ रुपैयाँ राजश्व संकलन गरेको समेत बताएको छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस